झापा, असार १८ । चालु आर्थिक वर्षको ११ महिनामा कुल प्रस्तावित लगानी दुई खर्ब १७ अर्ब रुपियाँ पुगेको छ ।

उद्योग विभागको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि जेठ महिनासम्म ३८५ उद्योग दर्ता भई दुई खर्ब १७ अर्ब लगानी प्रस्ताव आएको हो । ती उद्योग सञ्चालनमा आए २६ हजार जनाले रोजगारी पाउने अनुमान गरिएको छ ।

११ महिनामा सबैभन्दा धेरै साना उद्योग दर्ता भएका छन् । चालु आवमा दुई सय साना उद्योग दर्ता गर्ने लक्ष्य रहेकोमा २८४ वटा उद्योग दर्ता भएका छन् । यस्तै ८५ वटा मझौला उद्योग दर्ता गर्ने लक्ष्य रहेकोमा ११ महिनामा ५० वटा दर्ता भएका छन् । यस्तै ८० वटा ठुला उद्योग दर्ता गर्ने लक्ष्य रहेकोमा ११ महिनामा ५० वटा दर्ता भएका छन् ।

यस्तै ११ महिनामा ३५९ परियोजनामार्फत ४४ अर्ब ३४ करोड रुपियाँ विदेशी लगानी प्रतिबद्धता आएको छ ।

प्रस्तावित विदेशी लगानीबाट सञ्चालित परियोजनाबाट १७ हजार ६४२ जनालाई रोजगारी पाउने अनुमान गरिएको छ । चालु आवको ११ महिनामा वैदेशिक लगानी प्रतिबद्धता सबैभन्दा धेरै सेवा क्षेत्रमा ११४, पर्यटनमूलक उद्योगमा १७६, उत्पादनमूलक क्षेत्रमा ४०, सूचना प्रविधिमूलक १०, पूर्वाधारमूलक उद्योगमा सात, कृषिजन्य उद्योग आठ खानिजजन्यमा तीन र ऊर्जामा एक आएको छ । ११ महिनामा सबैभन्दा धेरै साना उद्योगमा ३४१, मझौला १४ र ठुला चार उद्योगमा विदेशी लगानी प्रतिबद्धता आएको हो ।

यस्तै ११ महिनामा दुई वटा प्याटेन्ट दर्ता भएका छन् । ११ वटा डिजाइन दर्ता भएका छन् । ११ महिनामा सबैभन्दा धेरै पाँच हजार ४९४ वटा ट्रेडमार्क दर्ता भएका छन् । जेठ महिनामा मात्र ४२३ वटा ट्रेडमार्क दर्ता भएका छन् । ८९ वटा टे«डमार्कसम्बन्धी मुद्दा कारबाहीमा परेको विभागको तथ्याङ्क छ ।

नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि वैशाख महिनासम्म छ अर्ब ९८ करोड रुपियाँ भित्रिएको छ । गत वर्ष सो अवधिमा चार अर्ब ३६ करोड रुपियाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको थियो ।

गत वर्षको १० महिनाको तुलनामा चालु आवको १० महिनामा दुई अर्ब ६२ करोड रुपियाँ बढी भित्रिएको नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कले देखाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्