विनोद सापकोटा,
शिवगञ्ज । सामुदायिक तथा संस्थागत विद्यालयबाट २०८० को एसईई परीक्षाको नतिजामा असफल भएका विद्यार्थीलाई शिवसताक्षीका एक जना वडा अध्यक्षले अतिरिक्त कक्षा सञ्चालन गर्ने भएका छन् ।


शिवसताक्षी नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष सिकिन पासवानले पुरक परीक्षा अवधिसम्म बिहान र बेलुका एक–एक घण्टा आफै अतिरिक्त कक्षा निःशुल्क सञ्चालन गर्ने बताए । वडा अध्यक्ष पासवान पूर्व शिक्षक हुन् ।
सामाजिक विषयमा अनुत्तीर्ण भई ग्रेडबृद्धि परीक्षाको पर्खाइमा रहेका विद्यार्थीलाई बिहान १ घण्टा र बेलुका १ घण्टा अतिरिक्त कक्षा संचालन गर्ने बताए । उनले स्थानीय शिवगञ्ज बजारको ट्युसन केन्द्रमा अतिरिक्त कक्षा संचालन गरिने सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । उनले बुधबारबाट कक्षा संचालन गरिने बताए ।

वडाध्यक्ष पासवान स्थानीय अश्विन मेमोरियल इङ्लिस बोर्डिङ स्कुलका सामाजिक विषयका पूर्व शिक्षक हुन् । उनले अनिवार्य गणित र ऐच्छिक गणित अध्यापन गराएका थिए । स्थानीय अभिभावकका अनुसार वडा अध्यक्ष पासवान ‘टेलेन्ट’ शिक्षक हुन् ।

मानविकी संकायमा सामाजिक र राजनीतिक शास्त्रमा स्नातक तह उत्तीर्ण गरेका पासवानले १० वर्षे शिक्षण अवधिको अनुभव लिएका छन् ।

स्थानीय जनआदर्श माध्यमिक विद्यालय, त्रिभुवन माध्यमिक विद्यालय, सगरमाथा अंग्रेजी बोर्डिङ स्कुल, नवकिरण बोर्डिङ स्कुल र दीक्षान्त इङ्लिस बोर्डिङ स्कुलका सामाजिक विषयमा ‘नन ग्रेड’ प्राप्त विद्यार्थीलाई अध्यापन गराउने उनले बताए ।
नेकपा एमालेबाट निर्वाचित पासवानको वडामा एउटा माध्यमिक तहसम्मको संस्थागत विद्यालय छ । माध्यमिक तहको सामुदायिक विद्यालय छैन । तर पनि आफू जिम्मेवार अभिभावक र पूर्व शिक्षक समेत भएकाले वडा नम्बर ४,५,६ र दक्षिणी वडा नम्बर ७ का विद्यार्थी लक्षित कार्यक्रम सञ्चालन गर्न लागेको उनले बताए । उनले छिमेकी पालिका पूर्वी उत्तर गौरीगञ्ज क्षेत्रका विद्यार्थीलाई पनि सहभागिताका लागि अनुरोध गरेका छन् । वडाध्यक्ष पासवानले सो कक्षामा कम्तिमा ३० जना विद्यार्थीको सहभागिता हुने अनुमान गरेका छन् । ‘विद्यालयले दिएको जानकारी अनुसार सामाजिक विषयमा ‘नन ग्रेड’को संख्या कम छ । मैले ३० जना जतिको अपेक्षा गरेको छु । बढी सङख्या भयो भने अर्को एकजना शिक्षकको सहयोग लिएर कक्षा सञ्चालन गर्ने योजना बनाएको छु,’ उनले भने ।

यसैबीच शिवसताक्षीको शुक्र माध्यमिक विद्यालयका शिक्षक शिक्षिकाले एसईई अनुत्तीर्ण विद्यार्थीलाई निःशुल्क कक्षा सञ्चालन गर्ने बताए । कक्षा सञ्चालन गरेबापत विद्यार्थी र विद्यालयबाट शिक्षकले कुनै पनि पारिश्रमिक नलिने उनीहरुले बताएका छन् । ‘हामी स्वतःस्फुर्त निःशुल्क अतिरिक्त कक्षा संचालन गर्ने र्छौ,’ प्रधानाध्यापक खगेन्द्र घिमिरेले भने ।

यस्तै झिलझिले माध्यमिक विद्यालयले पनि विद्यार्थीलाई निःशुल्क कक्षा सञ्चालन गर्ने भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष परशुराम ढुंगानाका अनुसार ट्युसन वा कोचिङ कक्षा सञ्चालन गरेबापत शिक्षकले कुनै पनि पारिश्रमिक पाउने छैनन् । बर्खे विदाका बेला यी कक्षा सञ्चालन हुनेछन् । विद्यालय प्रशासनका अनुसार विषयगत शिक्षकले अध्यापन गराउने छन् । एसईईको ग्रेडवृद्धिका लागि साउन २३ देखि परीक्षा संचालन हुने भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्