झापा, असार २० । अर्जुनधारा नगरपालिका क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा अध्यापन गराउने अंग्रेजी शिक्षकहरूको दुई दिने सम्मेलन बुधबार सम्पन्न भएको छ।। सम्मेलनले नगरस्तरीय अंग्रेजी विषयगत समिति गठन गरेको छ।
समितिमा संगीता खरेल डाँगी ,रामचन्द्र आचार्य ,ओम आचार्य, मिनीता काफ्ले ,भद्र घिमिरे , प्रीतिका परियार र धरणीप्रसाद सुवेदी रहेका छन्। नगरपालिका क्षेत्रमा अंग्रेजी विषय शिक्षणमा आइपर्ने समस्याहरू, अंग्रेजी शिक्षकहरूको पेशागत दक्षता अभिवृद्धि गर्ने साथै नगरपालिकाको सहकार्यमा विभिन्न किसिमका तालिम तथा प्रशिक्षणहरू सञ्चालन गर्ने उद्देश्यका साथ नगरस्तरीय अंग्रेजी विषय शिक्षक सञ्जाल गठन गरिएको नगर शिक्षा अधिकृत सुनिता भट्टराईले जानकारी दिइन्।
नगरमा पहिलोपटक अंग्रेजी शिक्षकहरूको सम्मेलन गरी अंग्रेजी भाषा शिक्षणमा देखापरेका समस्याहरू र त्यसलाई समाधान गर्ने उद्देश्यले सम्मेलनको आयोजना गरिएको अर्जुनधारा नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाका उपसचिव तोयानाथ रेग्मीले बताए। रेग्मीका अनुसार दुई दिने सम्मेलन अत्यन्त फलदायी भएको र आगामी दिनमा समेत यस प्रकृतिका सम्मेलन तथा विषयगत गोष्ठीहरू नियमित रुपमा सञ्चालन गरिने छ ।
सम्मेलनको समापनमा नवगठित अंग्रेजी विषय समितिले हरेक विद्यालयमा अंग्रेजी विषय समिति गठन गर्ने र सोको जानकारी नगरस्तरीय विषयगत समितिलाई गराउने बताइएको थियो। समापन समारोहलाई सम्बोधन गर्दै नेल्टा कोशी प्रदेशका वरिष्ठ उपाध्यक्ष धर्मेन्द्र भट्टराईले शिक्षकहरूको पेशागत अभिवृद्धि तथा गुणस्तरीय शिक्षा प्रदान गर्न नेल्टासँग आवश्यक विज्ञता तथा विज्ञ प्रशिक्षकहरू रहेको जानकारी गराउँदै नगरपालिकाले चाहेमा त्यस्ता सेवाहरू उपलब्ध गराउने जानकारी दिए ।शिक्षा युवा तथा खेलकुद शाखाकी अधिकृत सुनिता भट्टराईले नगरपालिकाले शिक्षकहरूको गुणस्तर अभिवृद्धि गर्ने कुरामा कुनै पनि कसर बाँकी नराख्ने तर शिक्षकहरूमा समेत जागरुकता र क्रियाशीलता हुनुपर्ने बताइन्।
अर्जुनधारा नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको सहयोग तथा अंग्रेजी शिक्षकहरूको संगठन नेल्टा झापाको आयोजनामा सञ्चालित दुई दिने सम्मेलनको अध्यक्षता नेल्टा झापाका अध्यक्ष प्रकाश पराजुलीले गरेका थिए ।सम्मेलनमा वरिष्ठ प्रशिक्षक रुद्रबहादुर थापा, जेनी राई , डा भिक्टोर जोसेफ, धर्मेन्द्र भट्टराई, टिकाप्रसाद सुवेदी र टेकनाथ शर्मा वाग्लेले विभिन्न विषयमा प्रशिक्षण दिएका थिए ।