झापा,असार २० । नेकपा एकीकृत समाजवादीको केन्द्रीय सदस्यका लागि झापाबाट ११ जना आकांक्षी देखिएका छन् ।

खुल्ला , उमेर समूह र महिला कोटामा एक–एक गरी झापाले तीनजना केन्द्रीय सदस्य पाउने ठाउँमा जिल्लाका ११ जना आकांक्षी देखिएका हुन् । केन्द्रीय सदस्यका लागि आकांक्षा राख्नेहरुमा पुष्प पोखरेल , चन्द्रा श्रेष्ठ , निलमणि बराल , सविता भेट्वाल , शंकर थापा , प्रत्युष राना , शारदा शर्मा , पर्शुराम शंकर , अशेष घिमिरे , भाष्कर काफ्ले र वासु दुलाल रहेका छन् ।

प्रदेश खुल्लामा पुष्प पोखरेल , निलमणि बराल र शंकर थापा , हल खुल्लामा भाष्कर काफ्ले , २५ वर्षदेखि ४५ वर्षसम्मको उमेर समूहमा प्रत्युष राना , वासु दुलाल र अशेष घिमिरे , महिलामा चन्द्रा श्रेष्ठ , सविता भेट्वाल र शारदा शर्माले दावी गरेका छन् । त्यस्तै पर्शुराम शंकरले दलित कोटामा केन्द्रीय सदस्यका लागि दावी गरेका छन् । दलितमा जिल्लाबाट कोटा नभई कोशी प्रदेशबाट तीनजना केन्द्रीय सदस्य बन्न पाउने प्रावधान रहेको छ ।

काठमाडौंमा जारी दशौँ राष्ट्रिय महाधिवेशनले माधवकुमार नेपाललाई अध्यक्ष , घनश्याम भुसाललाई महासचिव र झलनाथ खनाललाई सम्मानित नेतामा सर्वसम्मतले चयन गरिसकेको छ । अन्य पदाधिकारी र सदस्यहरूको सर्वसम्मत प्रस्ताव तयार गरी भोलि ११ बजे पेश गर्न सचिवालयलाई जिम्मेवारी दिइएको एकीकृत समाजवादी झापाका अध्यक्ष वेदराज रेग्मीले जानकारी दिए । उनले आफूले कुनै पनि पदमा उम्मेद्वारी नदिएको जानकारी दिए ।महाधिवेशनले २१ पदाधिकारीसहित २९९ केन्द्रीय कमिटी चयन गर्नेछ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्