झापा,असार २१ । शुक्रबारदेखि तीन दिन नेपालमा मनसुन अझै सक्रिय हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले विशेष बुलेटिन सार्वजनिक गरेर मनसुनको न्यून चापीय रेखा नेपालनजिक रहेकाले आइतबारसम्म दक्षिणी भूभागमा मनसुन थप सक्रिय हुने जानकारी दिएको हो।

महाशाखाले यसअघि १६ गते विशेष बुलेटिन सार्वजनिक गरेर मनसुन सक्रिय हुने र यसबाट हुनसक्ने क्षतिबाट सतर्क रहन भनेको थियो।

बिहीबार पुनः विशेष बुलेटिन सार्वजनिक गरेर महाशाखाले उक्त क्रम आइतबारसम्म चल्ने र मनसुन थप सक्रिय हने जनाएको हो।

मनसुन थप सक्रिय हुँदा आइतबारसम्म देशभर साधारणतयादेखि पूर्णतया बदली रही देशका अधिकांश स्थानहरूमा हल्का देखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ।

त्यस अवधीमा कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको हुनेछ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा भारी देखि धेरै भारी वर्षा तथा थोरै स्थानहरूमा अति भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाले विभिन्न ३० जिल्लाहरूमा उच्च सतर्कता अपनाउन भनेको छ।
गण्डकीका ८, लुम्बिनीका ९, कर्णालीका ६ र सुदूरपश्चिमका सात जिल्लाहरूका लागि रेड अलर्ट जारी गरिएको छ।
भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम, शहरी तथा तराई क्षेत्रहरूमा डुवानको जोखिम, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जन–जीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन तथा पूर्व तयारी गर्न सबै सरोकारवाला निकायहरूलाई महाशाखाले अनुरोध गरेको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्