झापा, असार २१ । अर्गानिक मल उत्पादनलाई बढाउन इलाम नगरपालिकाले किसानलाई अर्गानिक मल बनाउने मेशिन हस्तान्तरण गरेको छ ।

इलाम नगरपालिका –१, साखेजुङका किसानलाई नगरपालिकाले मल बनाउने मेशिन दिएको हो । कोशी प्रदेश सरकारको २५ लाख रुपियाँको अनुदानमा आएको मेशिन स्थानीय लेकाली कृषि सहकारी संस्थालाई इलाम नगरपालिका प्रमुख केदार थापाले हस्तान्तरण गरेका हुन् ।

अर्गानिक मल बनाउने योजनाबाट स्थानीय एक हजार घरधुरी लाभान्वित हुने बताइएको छ । संस्थालाई अनुदान प्राप्त भएको तीन रोपनी जग्गामा स्थापना गरिएको मल बनाउने योजनामा किसानको पनि ६ लाख २५ हजार रुपियाँ लागत साझेदारी रहेको संस्थाका अध्यक्ष धनमाया डाँगीले बताइन् ।

आगामी आर्थिक वर्षको बजेटमा कृषिलाई प्राथमिकतामा राखेको नगरपालिकाले कृषिमा अनुदान, तरकारी संकलन केन्द्र स्थापना, बजारको ब्यवस्थापन, कृषकको खेतबारीको माटो परीक्षणलगायत महत्वपूर्ण कार्य नगरले गरिरहेको भन्दै नगरप्रमुख थापाले अर्गानिक उत्पादनमा जोड दिन किसानलाई आग्रह गरे ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्