झापा असार २१ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको निर्वाचन क्षेत्र झापा २ मा आगामी आर्थिक वर्षमा १ सय २१ वटा योजना परेका छन् ।

सभामुखको विकास तथा पूर्वाधार क्षेत्रको समन्वय गरिरहेका स्वकीय सचिव केशव ढुङ्गेलका अनुसार सभामुखसहित सम्बन्धित क्षेत्रका सांसद,स्थानीय जनप्रतिनिधि तथा नेतासमेतको पहलमा १ सय २१ वटा योजनाका लागि क्षेत्र नम्बर २ मा मात्रै २ अर्ब १४ करोड रुपैयाँ भित्रिएको छ भने करोडौ बजेट आउने आधार समेत तयार भएको छ । झापा क्षेत्र नम्बर २ बिर्तामोड, अर्जुनधारा, कन्काई नगरपालिका तथा बुद्धशान्ति गाउँपालिकामा फैलिएको छ ।
“सम्भवतःलामो समयपछि झापा २मा ठूलो बजेट भित्रिएको हो,”उनले भने, “सामरिक महत्वका अन्य आयोजनामा समेत बजेट भित्र्याउन सभामुखज्यूले विशेष पहल गरिरहनुभएको छ ।”

सभामुखले बजेट निर्माणको तयारी चरणमा अधिकांश विकासे मन्त्रालयका मन्त्रीहरुलाई कार्यकक्षमा नै बोलाएर झापा २ का योजना समावेश गर्न आग्रह गरेका थिए । झापा क्षेत्र नम्बर २ मा सडक निर्माण, बाढी नियन्त्रण तथा रोकथाम, डोमालाल रंगशाला निर्माण, सिँचाइ आयोजना निर्माण, उद्यमशीलता विकास, रोजगार कार्यक्रम, खानेपानी आयोजना निर्माण लगायतका योजना प्राथमिकताका साथ परेका छन् ।

सभामुख घिमिरेले आफ्नो सचिवालयमा स्वकीय सचिव ढुङ्गेललाई विकास आयोजनाबारे समन्वय गर्न विशेष जिम्मेवारी दिएका छन् । संवैधानिकरुपमा आफू प्रतिनिधि सभाको सभामुख रहे पनि निर्वाचन क्षेत्रको विकास प्रतिनिधिको रुपमा रहेर काम गर्ने उनको भनाइ छ । “म जुनसुकै पदमा भएपनि आफू निर्वाचित क्षेत्रको विकास प्रतिनिधि हुँ,”उनी भन्छन्, “सदनमा म सभामुख रहे पनि झापा २ को विकासका मुद्धा र एजेन्डालाई निरन्तर अगाडि बढाउँछु ।”

सभामुख घिमिरेको सचिवालयले संघीय बजेटमात्र होइन, प्रदेश सरकारसँग समेत समन्वय गरेर लबिइङ गरेको थियो । कोशी प्रदेशको बजेटमा झापा क्षेत्र नम्बर २ मा मात्रै ४० करोड रुपैयाँका विभिन्न आयोजना छनोटमा परेका छन् ।
सभामुखको सचिवालयका अनुसार बिर्तामोड, अर्जुनधारा, कन्काई नगरपालिका र बुद्धशान्ति गाउँपालिका समेटिने गरि तयार भएको क्षेत्र नं २ चक्रपथ निर्माणका लागि दुई करोड ६२ लाख रुपैयाँ परेको छ । डोमालाल रंगशाला क्षेत्र पूर्वाधार निर्माणका लागि पनि एक करोड रुपैयाँ परेको छ । सभामुखले आफू निर्वाचित भएलगत्तै झापा २ केन्द्रित चक्रपथ निर्माण र डोमालाल रंगशाला स्तरोन्नति तथा हात्ती नियन्त्रणलाई विशेष चासो दिएका थिए ।

सभामुखले घैलाडुब्बा– चम्पापुर सडकमा पर्ने विरिङ खोलामा पक्की पुल निर्माण, शनिश्चरे– खुदुनावारी सडकका बिरिङ खोलामा पक्की पुल निर्माण, राजन गिरी मार्ग अर्जुनधारा ४ र ५ जोड्ने विरिङ खोलामा पक्की पुल, डोमालाल रंगशाला, अधवा खोला कोरिडोर, सखुवागाछी चेकड्यामसहितको सिँचाइ आयोजना, बिरिङ खोला तटबन्ध, हडिया खोला तटबन्ध, बिर्तामोड ढल निकास, बिर्तामोड बसपार्कलाई आफ्नो प्राथमिकतामा राखेका छन् ।

सभामुखले मुक्तिचोक– शनिश्चरे सडक, शनिश्चरे– जयपुर सडक, कप्तानवाडी– पुष्पलालचोक हुँदै लक्ष्मी मावि जाने सडक, सैनिकमोड– गोलधाप सडक, फाल्गुनन्द चोक– बेलटार– साठीमुरे हुँदै इलाम जाने सडक, हर्कलाल मार्ग, सहिद नेत्र मार्ग, सहिद चन्द्र मार्ग, गोकुल जोशी मार्ग लगायत सडकको स्तरोन्नतिलाई पनि प्राथमिकतामा राखेका छन् । हात्ती नियन्त्रण, अर्जुनधारा १ सैनिक तालिम केन्द्र व्यवस्थापन, सुपारी बाली प्रवर्द्धन तथा औद्योगीकरण, कोच संग्रहालय निर्माण तथा व्यवस्थापन, विराटपोखर तथा विराट भरत विश्रान्ति पर्यटन पूर्वाधार निर्माण, चौरासी बिघे सिँचाइ आयोजना पनि सभामुखको प्राथमिकतामा रहेका छन् । उनले वृहत् अर्जुनधारा खानेपानी योजना, बिर्तामोड पाइपलाइन विस्तार, कोलाटोली खानेपानी, साना सहरी खानेपानी, कैदले खानेपानी, बेलटार तथा लक्ष्मीपुर खानेपानी पनि प्राथमिकतामा राखेका छन् । सभामुख घिमिरेले प्राथमिकतामा राखेकामध्ये प्रायःजसो आयोजनामा बजेट विनियोजन भएको छ तर, पर्याप्त भने छैन।

आगामी आर्थिक वर्षका लागि ५६ वटा योजना सहरी विकास मन्त्रालयबाट परेका छन् । बिर्तामोडस्थित मोहनमाया माविको भवन निर्माण, जिल्लास्थित संघीय कार्यालय भवन मर्मत सुधार, सुरक्षित नागरिक आवास कार्यक्रम, अर्जुनधारा नगरपालिकामा एकीकृत सहरी पूर्वाधार विकास कार्यको डिटेल इन्जिनियरिङ डिजाइन तयार गर्ने योजना परेको छ ।
अर्जुनधारास्थित कप्तानवारी– मुखिनी गाउँ जोड्ने सडक स्तरोन्नति, मुसीचोक– ओमचोक– बाँसबारी –भानु मावि फुलबारी– पाण्डवपुर –लक्ष्मीपुर सडक स्तरोन्नति, अर्जुनधारा नगरपालिका– ११ को सेवारो टोलमा बाटो स्तरोन्नति, सोही वडाको बसपार्कमा पूर्वाधार निर्माणका लागि पनि बजेट विनियोजन भएको छ ।

अर्जुनधारा १ र ७ स्थित विरिङ खोला वाइपास करिडोर निर्माण तथा वडा नं ११ मंगलमणि मार्गबाट जुनकिरी स्कुल हुँदै गिरीबन्धु टि इस्टेट जाने सडक स्तरोन्नतिका २ करोड बजेट विनियोजन भएको छ ।
अधुवा खोला सडक कोरिडोर निर्माण तथा सौन्दर्यीकरण र सैनिकमोड जाने बाटो स्तरोन्नति, अधुवा खोला किनारमा नागरिक सार्वजनिक शौचालय निर्माण, भानु माविदेखि पश्चिम पाण्डवपुरसम्मको बाटो स्तरोन्नति पनि आगामी वर्षको बजेटमा समेटिएको छ ।

सहरी विकास मन्त्रालयको योजनामा झापा क्षेत्र नम्बर २ का अधिकांश वडा समेटिएका छन् । सहरी विकास मन्त्रालयले बिर्तामोड नगरपालिकालाई सहरी विकास अनुदानका लागि २८ करोड २० लाख रुपैयाँ बजेट छुट्याएको छ ।
झापा क्षेत्र नम्बर २ मा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट पाँच वटा योजना परेका छन् । बिर्तामोड वडा नम्बर २, ७ र ८, अर्जुनधाराको १, २, ३, ४, ९ र ११ नम्बर वडा, बुद्धशान्तिको १ नम्बर वडा र कनकाईको ८ र ९ नम्बर वडामा भूमिगत सिँचाइ आयोजना परेका छन् ।

स्वास्थ्य मन्त्रालयले बुद्धशान्तिमा २ करोड ९ लाख, कनकाईमा ३ करोड १४ लाख, बिर्तामोडमा ३ करोड ५९ लाख र अर्जुनधारामा ११ करोड ४० लाख रुपैयाँ विनियोजन गरेको छ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले चार वटै स्थानीय तहमा युवा रोजगारीका लागि रुपान्तरण पहल परियोजनाका लागि १३ लाखदेखि ५२ लाख रुपैयाँसम्म विनियोजन गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सुखानी सहिद स्मृति उद्यान वनस्पति सम्पदा संरक्षण तथा सौन्दर्यीकरण कार्यक्रमबाट ९० लाख रुपैयाँ र विराटपोखरी सरोवर बहुउद्देश्यीय पर्यटकीय पूर्वाधार निर्माणका लागि ९० लाख रुपैयाँ विनियोजन गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अर्जुनधारा नगरपालिकास्थित बाइजुराज सामुदायिक भवन निर्माण, सुसेली सामुदायिक भवन निर्माण, बुद्धशान्ति गाउँपालिका १ स्थित चिउरा मिलदेखि डुम्रिबोट जाने सडक निर्माण र वडा नम्बर २ को वरपिपलचोक पश्चिम बिरिङ पुलसम्म जाने सडक निर्माण र प्रणामी मन्दिरदेखि दुई रिंगे जाने सडक निर्माणका लागि २५–२५ लाख रुपैयाँ विनियोजन गरेको छ ।
अर्जुनधारा सहलगानी, बुधबारे, बुद्धशान्ति, अर्जुनधारा वृहत् खानेपानी, बुधबारे साना सहरी खानेपानी आयोजना, कैदले खानेपानी, लक्ष्मीपुर खानेपानी, कोलाटोली खानेपानी, सातकटेरी खुदुनाबारी खानेपानी, विरान खानेपानीका लागि २ लाखदेखि १ करोड रुपैयाँसम्म छुट्याइएको छ ।

भौतिक पूर्वाधार मन्त्रालयले झापा क्षेत्र नम्बर २ को चक्रपथ निर्माणदेखि सहिद चन्द्र मार्ग, गोकुल जोशी मार्ग, सहिद हर्कलाल मार्ग, गोपालडाँडा स्कुलदेखि महानन्द चोकसम्मको सडक, बुद्धशान्ति १ स्थित बुधबारे सडक, अर्जुनधारा २ र ३ स्थित घिमिरेचोक पश्चिमबाट मिलनचोक हुँदै मदन भण्डारी राजमार्ग जाने सडक र फाल्गुनन्द चोकदेखि बेलटार हुँदै साठीमुरे जाने सडकका लागि एक करोडदेखि पौने दुई करोडसम्मका योजनामा रकम विनियोजन गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्