लक्ष्मी उप्रेती,
मेचीनगर । परिवारमा सन्तानको जन्म भएपछि सवैभन्दा बढी कोही खुशी हुन्छन् भने उसका आमाबाबु नै हुन्छन् । त्यसपछि अन्य परिवारका सदस्यहरु । बच्चा जन्मनु खुशीको कुरा हो । बच्चाकै कारण घरमा खुशी छाउने गर्छ । अझ बढी खुशी त त्यो समयमा हुन्छ, जतिबेला घरमा एउटा मात्र हैन दुई—दुई वटा जुम्ल्याहा बच्चाको आगमन एकैचोटी हुन्छ ।
झापाको मेचीनगर —१४ दुहागढीमा रहेको बाल सुबोधिनी माध्यमिक विद्यालय विभिन्न रचनात्मक कामले निकै चर्चामा छ । त्यस विद्यालयमा हरेक दिन फरक फरक र नयाँ कामको शुरु हुन्छ । जिल्लाका अन्य सामुदायिक विद्यालयहरुमध्ये यस विद्यालयले फरक रुपमा आफ्नो परिचयलाई स्थापित गरेको छ । त्यसकारण पनि प्रत्येक दिन जिल्लाभित्रका हुन् या बाहिरका अन्य विद्यालयहरु बाल सुबोधिनीको सफल सिकाई अध्ययन गर्न आउने गरेका छन् ।
त्यस विद्यालयका शिक्षक शिक्षिकाहरुको सामूहिक नृत्यले होस् वा विद्यार्थीहरुले विद्यालय परिसरमा लगाएको मौसम अनुसारको खेती अनि दिवा खाजाका रुपमा कहिले सिमल तरुल र सुठुनीदेखि तिलका लड्डु होस् वा खीर अनि असार १५ मा खान दही चिउरा, केरा, र कटहर तथा सामुदायिक विद्यालय भएपनि परीक्षाको परिणाम र पोशाकले निजीभन्दा कम नरहेको थुप्रै विषयले बाल सुबोधिनी माध्यमिक विद्यालय चर्चामा छ ।
पछिल्लो समय यो विद्यालय अर्काे एउटा कारणले पनि आकर्षणको रुपमा रहेको छ । त्यो हो त्यस विद्यालयमा अध्ययनरत पाँच जोडी जुम्ल्याहा विद्यार्थीहरु । विद्यालयका प्रधानाध्यापक विश्व थापाका अनुसार अहिले त्यस विद्यालयमा फरक– फरक कक्षामा पाँच जोडी जुम्ल्याहा विद्यार्थी अध्ययनरत छन् । अध्ययनरत विद्यार्थीहरुमध्ये निशान घिमिरे र निर्जल घिमिरे, गंगा डाँगी र लक्ष्मण डाँगी तथा गंगा घिमिरे र जमुना घिमिरेगरी तीन जोडी कक्षा ७ को अंग्रेजी माध्यमको सेक्सन ‘बी’ मा अध्ययनरत छन् । निशान र निर्जल दाजुभाइ हुन् । गंगा र लक्ष्मण दिदीभाइ, गंगा र जमुना दिदीबहिनी हुन् ।
आइसा र फिरोजा दिदीबहिनी हुन् । उनीहरु नेपाली माध्यमको कक्षा ६ सेक्सन ‘ए’ मा अध्ययनरत छन । त्यसैगरी, कक्षा १ मा अध्ययनरत गंगा र जमुना पनि दिदीबहिनी हुन् । यी पाँचै जोडीको रुचि प्रायः समान छ । पढाईसँगै खेलकुदमा समेत उनीहरुको रुचि रहेको प्रधानाध्यापक थापा बताउँछन् । ‘ उनीहरुको हाउभाउ चालचलन सवैको एकै प्रकारको भए पनि शिक्षण सिकाईमा समान छैन’ प्रधानाध्यापक थापाले भने ,‘कोही अब्बल छन् त कोही थोरै कमजोर छन् तर, अन्य विद्यार्थीहरुको तुलनामा चाँहि नतिजा उत्कृष्ट नै छ ।’ जोडीमध्ये कोही एकजना विद्यालय नआउने भएमा दुवैजना आउँदैनन् ।
विद्यालयमा सँगै बस्ने, हिडडुल गर्ने खाजा समेत सँगै खाने गर्ने गरेको प्रधानाध्यापक थापा बताउँछन् । उनीहरुको मूल्याङ्कन गर्ने क्रममा समेत शिक्षकलाई गाह्रो हुन्छ । शिक्षकलाई नाम थाहा भए पनि कुन विद्यार्थी हो भन्ने थाहा हुन गाह्रो हुने हुँदा उनीहरुलाई नाम भनेर उठाइन्छ र चिन्ने गरिन्छ । शिक्षकले नाम सोधेर मात्र चिन्ने गरिएको प्रअ थापाको भनाई छ । अन्य विद्यालयबाट अध्ययन अवलोकनका लागि आउने जो कोहीका लागि सबैभन्दा पहिला यी जुम्ल्याहा विद्यार्थी नै रोजाईमा छन् । उनीहरु जो कोहीसँग पनि खुलेरै बोल्छन् ।