झिलझिले, असार २३ ।झापाली साहित्यकार एवं सताक्षीधाम साहित्य सङ्गमका अध्यक्ष उमानाथ दाहालको पहिलो लघुकथा संग्रह ‘सनेस’को शनिवार भक्तपुरमा विमोचन भएको छ ।


सताक्षीधाम साहित्य सङ्गम र हाम्रो लघुकथा केन्द्र नेपालको संयुक्त आयोजनामा भक्तपुरको कौशलटारमा आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व प्राज्ञ सदस्य साहित्यकार प्रा. डा. देवी नेपाल, सृजना साहित्य समूहका अध्यक्ष एवं प्रज्ञा प्रतिष्ठानका पूर्व प्राज्ञ सदस्य लघुकथाकार ध्रुव मधिकर्मीलगायतले विमोचन गरेका थिए ।

कार्यक्रममा साहित्यकार प्रा.डा. नेपालले दाहालको ‘सनेस’ हेर्दा भाषा शैली, प्रस्तुति, संवाद सबै कोणबाट लघुकथाको आयाममा उत्कृष्ट रहेको चर्चा गरे । उनले लघुकथाभित्र दाहालले समाजको बेथितिलाई भित्रैबाट केलाउँदै सामाजिक सन्देश छरेको बताए । लेखक दाहाल झापाका लागि एक व्यक्ति नभई संस्था भएको चर्चा गर्दै उनका विभिन्न कृतिमध्ये लघुकथामा पहिलोपटक कलम चलाएर पनि स–सानामा कमजोरीबाहेक खोट लगाउने ठाउँ नभएको नेपालको भनाई थियो ।

‘लेखक दाहालकी पत्नी उर्मिला दाहाल आफैँमा साहित्यकार र छन्द कविता वाचनमा उत्कृष्टता पहिचान बनाउन सफल कलाकार हुन्,’ उनले भने ‘ अहिले त बुहारी गरिमा पन्त, छोरी कल्पना र रचना पनि साहित्य विधामा निरन्तर कलम चलाइरहनु भएको छ । सिङ्गो परिवार साहित्य लेखन र सहयोगमा लाग्नु नेपाली साहित्य क्षेत्रमा खुसीको कुरा होे ।’
स्रष्टा एवं लघुकथाकार धु्रव मधिकर्मीले लघुकथा एउटा घटनाको छोटो आयाम भएको चर्चा गर्दै सानो किस्सामा लेखिने भए पनि यसको अर्थ, महत्व र लेखनमा धेरै मेहनत पर्ने बताए ।


लघुकथालाई सामान्य रूपमा लिन नहुने बताउँदै उनले यसमा हुनुपर्ने तत्वहरू नभए लघुकथा बन्न नसक्ने टिप्पणी गरे । उनले लेखक दाहालको लघुकथा लेखन विस्तारै गहन रूपमा अगाडि बढ्ने विश्वास व्यक्त गर्दै उनले लघुकथाको जगेर्नामा दाहालको प्रयास प्रभावकारी हुने बताए ।

‘सनेस’का समीक्षकद्वय इन्दिरा चापागाईँ र शेखर अर्यालले समाजका विकृति, राजनीतिक विसङ्गति, शिक्षा, पारिवारिक समस्या, जातीय विभेद, सरकारप्रति व्यङ्ग्य समेटिएको यो संग्र्रह भाषा शैलीबाट समेत उत्कृष्ट रहेको बताए ।
लेखक दाहालले यसअघि १० कथा संग्रह, बाल कविता संग्रह, बाल संसार, कविता संग्रह, गीति संग्रह प्रकाशित गरेका छन् । दाहालको लघुकथाको क्षेत्रमा भने यो पहिलो कृति हो । कार्यक्रममा हाँस्यकार डम्बर घिमिरे, बन्दना घिमिरे, लता केसी, निर्मला बराल ममतालगायतले दाहालको लघुकथाले सामाजिक सन्देश प्रवाह गर्न सफल हुने चर्चा गरे ।

‘सनेस’भित्र ६२ वटा लघुकथा संग्रहित छन् भने १५ देखि चार सय शब्दसम्मका लघुकथा छन् । कुल ८२ पृष्ठ लामो संग्रहको मूल्य रु दुई सय ५० कायम गरिएको छ ।कार्यक्रममा लोकार्पित कृतिबाट निर्मला बरालले परिवर्तन, रचना दाहालले भगवान र गरिमा पन्तले अलपत्र शीर्षकका लघुकथा वाचन गरेका थिए।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्