द्रोण अधिकारी,
भद्रपुर । थपिएको म्यादभित्र समेत ठेकेदारले भद्रपुर—बिर्तामोड सडकको निर्माण कार्य सम्पन्न गर्न नसकेपछि वर्षात्का कारण उत्पन्न समस्यालाई लिएर चन्द्रगढीको लेखनाथ चौकमा हरेक दिन युवाहरूले प्रदर्शन जारी राखेका छन् ।


पछिल्लो पटक सडक निर्माणका लागि असारसम्म म्याद थप गरिएको भएपनि सडक निर्माणको ठेक्का पाएको काठमाडौँको कन्टेक प्रालिले तेस्रो पटक थपिएको म्याद गुज्रिदासम्म ५० प्रतिशत पनि काम सम्पन्न नगर्दा सदरमुकाम चन्द्रगढी क्षेत्रमा आवतजावतमा निकै समस्या भएको हो । त्यही समस्यालाई लिएर स्थानीय युवाहरूले एक सातायता निरन्तर विरोध प्रदर्शन गरिरहेका छन् ।

यस सडकको निर्माण छिटो सम्पन्न गराउन दबाब दिँदै स्थानीयले आन्दोलन गरेको दशक बित्न लाग्यो तर, कामको परिणाम उस्तै छ । नगर प्रमुख, उपप्रमुख र सडकले छुने वडाका वडाध्यक्षहरू स्थानीयको गुनासो सुन्न हरेक दिन आउँछन् । तर, सडकका खाडल वर्षात् बढेसंगै गहिरिने क्रम रोकिएको छैन । दशकौंदेखि स्थानीयलाई आवतजावतमा उही समस्या छ ।

चन्द्रगढीको लेखनाथ चौकमा एमाले अध्यक्ष केपी ओली, काँग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको तस्वीरमा बेपत्ता जनप्रतिनिधि लेखेर निरन्तर प्रदर्शन गरिरहेका स्थानीयले कहिले ढाँट राखेर सडक अवरोध गर्दै त, कहिले सडकमा धान रोपेर विरोध गरिरहेका छन् । स्थानीयले पछिल्लो पटक नगर प्रमुख, उपप्रमुख र सडकले छुने वडाका वडाध्यक्षहरूलाई राखेर निर्माण कम्पनीका प्रतिनिधिलाई काम छिटो गर्न दबाब दिइरहेका छन् ।

स्थानीयलाई सम्बोधन गर्दै नगर प्रमुख गणेश पोखरेलले आफूले नेतृत्व लिएदेखि नै चन्द्रगढी—बिर्तामोड सडकको काम छिटो गराउन सडक विभाग, संघीय सरकारलाई दबाब दिइरहेको भएपनि आबश्यक बजेट निकासा नहुँदा काम सम्पन्न हुन नसकेको बताए । नगर प्रमुख पोखरेलले यस वर्ष बिर्तामोड नगर क्षेत्रमा मात्र काम भएकाले भद्रपुर नगरभित्र पर्ने चन्द्रगढी क्षेत्रमा वर्षात् शुरू हुनुपूर्व खाल्डाखुल्डी पुर्न निर्माण व्यवसायीलाई भनेर २४ टिपर मिक्स गिटी हाल्ने काम भएपनि अविरल वर्षात्ले समस्या उस्तै रहेको जानकारी दिए । उनले आगामी आर्थिक वर्षको काम चन्द्रगढी क्षेत्रबाटै गर्ने गरी सडक विभागसित पहल गरिरहेको बताए ।

उपप्रमुख राधा कार्कीले सडकका खाल्डाबाट स्थानीय आजित भएको भन्दै सडक विभागलाई जिम्मेवार बन्न आग्रह गरिन् ।
भद्रपुर ७ का वडाध्यक्ष अभिषेक ढुंगाना चन्द्रगढी क्षेत्रबाट काम अगाडि बढाउन सडक आसपासका नागरिकले अदालतमा हालेको मुद्धा फिर्ता नलिइ संभव नदेखिने बताउँछन् ।

भद्रपुर १० का वडाध्यक्ष टेकबहादुर खड्का काजी सडकका लागि सरकारले न्यून बजेट निकासा गरेका कारण तोकिएको अवधिमा काम पूरा नभएर वर्षौं समस्या भोग्नु पर्ने बाध्यता रहेको बताउँछन् ।

२०७७ माघ ६ गते ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले ३० महिनामा काम सम्पन्न गर्नुपर्ने म्याद रहेको थियो । त्यस अवधिभित्र करिब ३० प्रतिशत मात्र काम सम्पन्न भएपछि सडक डिभिजन कार्यालय दमकले पटक पटक गरी यही असारसम्म म्याद थप गरेको थियो ।

बल्लतल्ल धौला पुलदेखि देउनियाँसम्म ४ किलोमिटर सडकको एकापट्टी सडक बनेपनि देउनियाँदेखि पूर्वपट्टिको सडकखण्ड यस वर्ष निर्माण नहुने भएको छ । निर्माण कम्पनीले बजेट अभावका कारण यस वर्ष देउनियाँदेखि चन्द्रगढीसम्मको सडकखण्ड निर्माण नहुने जनाइसकेको छ ।

जिम्मेवारी लिएका ठेकेदारले समयमै काम पूरा नगर्दा यात्रुहरूले सास्ती बेहोरिरहेका छन् । सम्झौताअनुसार निर्माणको काम नगरेको भन्दै निर्माण कम्पनी कन्टेक प्रालिलाई सडक डिभिजन दमकले पटक पटक स्पष्टीकरण सोधेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्