मेचीनगर,असार २३ । युवालाई उत्पादन र उद्यमसँग जोड्न मेचीनगर नगरपालिकाले आगामी आर्थिक वर्षबाट विशेष कार्यक्रम ल्याउने भएको छ ।

विदेश पलायन रोक्न युवालाई नगर युवा परिषद्मार्फत युवा उद्यम प्रोत्साहन कार्यक्रमलाई नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रममा समेटेको नगर उपप्रमुख मीना पोख्रेल उप्रेतीले जानकारी दिइन् ।

युवा विकासतर्फ नगरस्तरीय युवा परिषद्मार्फत युवा उद्यम प्रोत्साहन कार्यक्रम, सकारात्मक परिवर्तनसम्बन्धी, युवा उद्यम विकासका लागि र युवा उद्यम विकास छनौटका लागि विशेषज्ञ सेवा समेतमा बजेट विनियोजन गरेको उपप्रमुख उप्रेतीको भनाई छ । यसका लागि नगरपालिकाले २९ लाख रुपैयाँ विनियोजन गरेको छ । युवा उद्यम प्रोत्साहन कार्यक्रमका लागि १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको बताइएको छ ।

‘युवाका लागि विशेष कार्यक्रम ल्याउने तयारी गरेका छौ’ उपप्रमुख उप्रेतीले भनिन् ,‘युवाहरूको विदेश पलायनलाई रोक्न र स्वदेशमै काम गर्ने वातावरण सिर्जना गर्नको लागि स्थानीय सरकार मेचीनगर नगरपालिकाले विशेष व्यवस्था गर्न लागेको हो ।’ युवालाई कृषिलगायत विभिन्न उद्योगसँग जोड्न र प्रोत्साहन गर्नका लागि स्थानीय सरकार लागिपरेको नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले जानकारी दिए ।

देशमै कृषि क्षेत्रमा ठूलो सम्भावना रहेको भन्दै नगर प्रमुख बुढाथोकीले कृषिलगायत अन्य उद्यममा युवाहरुलाई सही बाटो देखाउन नगरपालिकाले युवाहरुलाई लक्षित गरी उनीहरुलाई उत्पादनसँग जोड्न विशेष कार्यक्रम ल्याउने बताए । नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रममा यसलाई प्राथमिकतामा राखेको र कार्यान्वयनमा समेत जाने उनको भनाई छ ।

आगामी आर्थिक वर्ष २०८१÷०८२ मा सकारात्मक परिवर्तनसम्बन्धी कार्यक्रम सञ्चालनका लागि चार लाख, युवा उद्यम विकासका लागि दोस्रो ‘आइडिया हन्ट’ कार्यक्रमका लागि तीन लाख र युवा उद्यम विकास छनौटका लागि विशेषज्ञ सेवा खर्चका लागि दुई लाख रुपैयाँ बजेट विनियोजन भएको छ । युवालाई उत्पादन र उद्यमसंग जोड्न सकियो भने देशको अर्थतन्त्र सुधार हुने र बढ्दो विदेश पलायन क्रमशः न्यून हुँदै जानेमा नगरपालिकाले बिश्वास लिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्