झापा, असार २४ । झापामा प्रतिबन्धित ब्राउनसुगरसहित तीनजना पक्राउ परेका छन् ।

दमकबाट दुईजना र मेचीनगरबाट एकजना पक्राउ परेका हुन् । हिजो दिउँसो ४ बजे दमक ४ स्थित कृष्ण मन्दिरमा लागूऔषध खरिद बिक्री भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमक र अस्थायी प्रहरी पोष्ट तारावारीबाट खटिएको संयुक्त प्रहरी टोलीले दमक ४ बस्ने अन्दाजी ३१ वर्षीय भानु बाह्रकोटी र मोरङ उर्लाबारी ७ बस्ने अन्दाजी ३६ वर्षीय खगेन्द्र न्यौपानेको शरीर खानतलासी गरेको थियो ।

त्यसक्रममा उनीहरुको साथबाट ६ ग्राम ब्राउनसुगर र नगद ६७ हजार ८०० रुपैयाँ फेला परेको थियो । दुवै जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ ।

त्यस्तै हिजो साँझ ७.३० बजे मेचीनगर नगरपालिका वडा नं. ६ स्थित पुरानो मेची पुलमा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका बुद्धशान्ति गाउँपालिका वडा नं. १ बस्ने २१ वर्षीय बिशाल श्रेष्ठलाई शंका लागेर सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गरेको थियो ।

त्यसक्रममा उनले लगाएको पाईन्टको गोजीबाट हरियो रङको प्लाष्टिकमा पोका पारी लुकाई छिपाई ल्याउँदै गरेको ६७० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । उनलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्