झापा, असार २४ । सामाजिक संजालमा पोस्ट गरेको विषयलाई लिएर माओवादी कार्यकर्ताबीच हल्दिवारीमा कुटाकुट भएको छ ।

केही दिन अगाडी सामाजिक संजालमा पोस्ट गरेको विषयलाई लिएर गत स्थानीय निर्वाचनमा माओवादी पार्टीकी हल्दिबारी गाउँपालिकाको उपाध्यक्ष पदकी उम्मेदवार टिका राउतले पार्टीकै हल्दिबारी गाउँ कमिटी –२ का अध्यक्ष खगेन राजवंशीलाई गाली गलौज गरी कुटपिट गरेकी हुन् ।

आज दिउँसो २ बजेको समयमा हल्दिबारी गाउँपालिकाको वडा न–२ पारोखोपीस्थित भेलागुरी सामुदायिक वन उपभोक्ता समितिको कार्यालयभित्र प्रवेश गरी हल्दिबारी–२ की टिका राउतको नेतृत्वमा उनकै दाजुभाइ गरी करिब ५–६ जनाको समूहले भेलागुरी सामुदायिक वन उपभोक्ता समितिका सचिबसमेत रहेका खगेन राजवंशीलाई गाली गलौजका साथ कुटपिट गरेका हुन् । कुटपिटबाट राजवंशी घाइते भएका छन् । उनको आँखामा चोट लागेको बताइएको छ ।

घटनापछि राउतका दाजुभाइ बालकुमार पौडेल र सन्तोष पौडेललाई प्रहरीले पक्राउ गरेको छ । घाइते भएका राजवंशीले आफू घाउ जाँच गरी जिल्ला प्रहरी कार्यालयमा उजुरी दिन आएको बताए । वन समितिको कार्यालयमा बसिरहेका बेला आफूमाथि एक्कासि आक्रमण भएको उनको भनाई थियो । उता ,आफूलाई इंगित गरी केही दिनदेखि सामाजिक संजालमा लेखेपछि सोही विषयमा विवाद परेको र त्यसक्रममा सोधासोध र धक्कामुक्का भएको राउतले बताइन् । दुवै पक्षको गल्तीका कारण सो घटना भएको हल्दिवारी २ का वडाध्यक्ष शुकलाल राजवंशी बताउँछन् । सामाजिक संजालमा इंगित गरेर नकारात्मक कुराहरु नलेख्नु पर्ने र आक्रोशित भएर आक्रमण गर्न नजानु पर्ने उनले प्रतिक्रिया दिए । दुबै जना साथी–साथी भएपनि केही दिन अगाडी सामाजिक संजालमा पोस्ट गरेको विषयलाई लिएर विवाद भएको बुझिन आएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्