झापा, असार २५ । कमल गाउँपालिका वडा न.४ स्थित सितापुरी चोकमा मोटरसाइकल दुर्घटना हुँदा एकजना गंभीर घाइते भएका छन् ।

आज बिहान अन्दाजी १ः१५ बजेको समयमा सितापुरी चोकस्थित पूर्व पश्चिम राजमार्गमा दमकबाट केर्खातर्फ आउँदै गरेको तत्काल नम्बर नखुलेको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकलमा पछाडी सवार दमक नगरपालिका वडा न.४ आस्था कलेजनजिक बस्ने कृष्ण धिमालकी श्रीमती ३७ वर्षीया पबित्रा धिमाल गंभीर घाइते भएकी छन् । टाउको, अनुहार, दाहिने हात, खुट्टामा चोट लागेकी पवित्रालाई दमकको लाईफलाईन अस्पतालमा सामान्य उपचारपश्चात् थप उपचारको लागि बिराट नर्सिङ होम बिराटनगर रेफर गरिएको छ ।

पवित्राको उपचारमा उनकै श्रीमान संलग्न रहेको प्रहरीले जनाएको छ । सीसीटीभी फुटेज हेर्दा मोटरसाइकल चालकले घाइतेलाई घटनास्थलमै छाडी फरार भएको देखिएकोले मोटरसाइकल चालकको खोजतलास भइरहेको र घाइतेले केही भन्न नचाहेको प्रहरीले जनाएको छ ।

त्यस्तै गएराति ११.३० बजे कमल गाउँपालिका वडा नं.– ६ दहिचोकस्थित भित्री सडक खण्डमा पाडाजुँगीबाट गौरादहतर्फ जाँदै गरेको प्रदेश १–०१–०१४ प १३३४ नं. को मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिई घाइते बनाएको छ । घाइते हुनेमा पाँचथर फिदिम घर भई हाल कमल गाउँपालिका वडा नं.–५ गेउरीया डेरा गरी बस्ने अन्दाजी २५ वर्षीय आबेश लिम्बू रहेका छन् । उनको दाहिने खुट्टाको घुँडामुनि भाचिएको र टाउकोमा सामान्य चोट लागेको छ ।

त्यस्तै मोटरसाइकल चालक गौरादह नगरपालिका वडा नं. १ बस्ने अन्दाजी २० वर्षीय मिलन कार्कीसमेत घाइते भएका छन् । दुबै जना घाइतेलाई निम्स अस्पताल दमकमा सामान्य उपचारपश्चात् राति नै न्युरो अस्पताल बिराटनगर रेफर गरिएको र मोटरसाइकल इलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा रहेको जनाइएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्