लक्ष्मी उप्रेती,

मेचीनगर । कोशी प्रदेशमा चालु आर्थिक वर्ष २०८०÷०८१ को साउन महिनादेखि असार २३ गतेसम्म बाढी पहिरोमा परी २६ जनाको मृत्यु भएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार यो अवधिमा ३ सय ९३ स्थानमा बाढी पहिरो गएको थियो ।कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रामप्रसाद तिमिल्सिनाका अनुसार प्रदेशका १४ वटा जिल्लाका विभिन्न ५९ ठाउँमा बाढीका कारण १८ र ३ सय ३४ ठाउँमा पहिरोमा परी ८ जनाको मृत्यु भएको हो । पहिरोका कारण १४ र बाढीका कारण ३ गरी १७ जना घाइते भएका थिए । बाढीका कारण ३ वटा चौपाया मरेका छन् । बाढी र पहिरोका कारण १० करोड ९१ लाख ९५ हजार रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।

यो अवधिमा विभिन्न विपद्मा परेर प्रदेशभरिमा ६७ जनाको मृत्यु भएको कार्यालयले जनाएको छ । १ सय ७८ जना घाइते भएका छन् । पहिरोमा परी ८, बाढीका कारण १८, चट्याङका कारण ८, आगलागीका कारण २० र विभिन्न जंगली जनावरका कारण १३ गरी कुल ६७ जनाको मृत्यु भएको प्रहरीको अभिलेखले देखाएको छ । यस्ता विपद्मा परेकाहरुको उद्धारका लागि प्रदेशभरिमा १५ हजार २ सय १५ जना सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

५८ स्थानमा चट्याङ पर्दा ८ जना मानिसकाृे मृत्यु र २९ जना घाइते भएको प्रहरी नायव उपरीक्षक तिमिल्सिनाले जानकारी दिए । यसैगरी, १ हजार ६ सय ९८ स्थानमा आगलागीका घटना हुँदा २० जनाको मृत्यु भएको छ भने १ सय ३२ जना घाइते भएका छन् । विभिन्न जंगली जनावरको आक्रमणमा परी १३ जना मानिसको ज्यान गएको छ भने ५३ जना घाइते भएका छन् । अधिकाँशले हात्तीको आक्रमणका कारण ज्यान गुमाएका छन् ।

प्रहरीका अनुसार ७ सय ३७ वटा घर बाढीका कारण प्रभावित भएका थिए । बाढी र पहिरोका कारणमात्र प्रदेशमा करिब १२ करोड २६ लाख १० हजार ५ सय रुपैयाँको क्षति भएको प्रहरीले अनुमान गरेको छ । बाढी र पहिरोका कारण १ सय ६३ वटा पशुपंक्षीको मृत्यु, १० वटा घाइते भएको प्रहरीको भनाई छ । चट्याङका कारण २८ वटा घरमा क्षति पुग्दा , २९ जना मानिस घाईते हुँदा र १ सय ३० वटा पशुपंक्षी मर्दा अनुमानित ९७ लाख ८९ हजार ३ सय रुपैयाँ बराबरको क्षति भएको छ ।

आगलागी घटनाका कारण ७ सय ४५ घर प्रभावित भएका छन् । ७ हजार ३ सय ५८ वटा पशुपंक्षीको मृत्यु र १ सय ८९ वटा घाईते हुँदा १ अर्ब ९ करोड ५८ लाख ६४ हजार ४ सय २५ रुपैयाँ बराबरको क्षति भएको प्रहरीले अनुमान गरेको छ । विभिन्न जंगली जनावरले १ सय ५९ घरमा क्षति पुर्याउँदा १ करोड ५९ लाख ८५ हजार ६ सय ४० रुपैयाँको क्षति भएको छ । १ सय ८१ स्थानमा हावाहुरीका कारण ८ घरमा क्षति पुगेको थियो भने ६ जना मानिस र ६ पशुपंक्षी घाइते भएका थिए । हावाहुरीका कारण करिब ४ करोड ६६ लाख २५ हजार ३ सय रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्