झापा, असार २५ । हल्दिवारी २ स्थित भेलागढी सामुदायिक वन उपभोक्ता समूहले कुटपिट र तोडफोडमा संलग्न माओवादी कार्यकर्ता टिकादेवी राउतलगायतमाथि कार्वाहीको माग गर्दै आज जाहेरी दर्ता गराएको छ ।

वन समूहका अध्यक्ष पुण्यप्रसाद लम्साललगायतले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएका हुन् । केही दिन अगाडी सामाजिक संजालमा पोस्ट गरेको विषयलाई लिएर गत स्थानीय निर्वाचनमा माओवादी पार्टीका तर्फबाट हल्दिबारी गाउँपालिकाको उपाध्यक्ष पदकी उम्मेदवार टिकादेवी राउतलगायतले भेलागढी सामुदायिक वन उपभोक्ता समूहका सचिवसमेत रहेका माओवादीकै हल्दिबारी गाउँ कमिटी –२ का अध्यक्ष खकेन राजवंशीलाई गाली गलौज गरी हिजो कुटपिट गरेका थिए ।

समूहका सचिव तथा बिक्री समितिका संयोजक खकेन राजवंशीसहित कार्यालयको कामकाज गरिराखेको अवस्थामा राउतको नेतृत्वमा उनका भाईहरु सन्तोष पौडेल र बालकुमार पौडेलसहितको टोली कार्यालयमा प्रवेश गरी कार्यालको कम्प्यूटर, प्रिन्टर, सचिवको मोवाइलसहितका सामग्री तोडफोड गरी सचिव आफ्नै टेबलमा बसी काम गरिरहेको अवस्थामा कुटपिट गरी घाइतेसमेत बनाएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको अध्यक्ष लम्सालले प्रेस विज्ञप्ति जारी गरी जनाएका छन् ।

लम्सालले उक्त निन्दनीय घटनाप्रति घोर भर्त्सना गर्दै उनीहरुलाई कानुन अनुसारको कार्वाही गर्न सम्बन्धित निकायसंग जोडदार माग गरेका छन् । घटनापछि राउतका भाइहरु बालकुमार पौडेल र सन्तोष पौडेललाई प्रहरीले हिजै पक्राउ गरेको छ । सामाजिक संजालमा पोस्ट गरेको विषयलाई लिएर माओवादी कार्यकर्ता राजवंशी र राउतबीच कुटाकुट भएको हो ।आफूलाई इंगित गरी केही दिनदेखि सामाजिक संजालमा लेखेपछि सोही विषयमा विवाद परेको राउतले बताएकी छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्