झापा,असार २५ । घर टहराको उचित मूल्यांकनसहित मुआब्जा बुझिसकेर पनि घर भत्काउन खोज्ने मुआब्जापीडितहरुलाई भद्रपुर भन्सार कार्यालयले १५ दिनभित्र संरचना खाली गर्न सूचित गरेको छ ।

मुआब्जापीडितहरुले आफ्ना घर टहरा सम्झौता भएकै अबस्थामा छाडेर जानुपर्नेमा भित्रभित्रै भत्काउने कार्य गर्न थालेपछि भद्रपुर भन्सारले मध्य बर्षाकै बिचमा भएपनि असार २१ गतेबाट लागु हुनेगरी १५ दिनभित्रमा सम्पूर्ण संरचना छोडेर जान सूचना टाँस गरेको हो ।

२०७५ सालमा छोटी भन्सारबाट भद्रपुर भन्सार कार्यालयमा स्तरोन्नति भएको यस कार्यालयले आफ्नो कार्यालय अगाडि रहेको १० बिगाह जमिनसहित घर टहराको उचित मूल्यांकनसहित मुआब्जा वितरण अन्तिम चरणमा पुर्याएको छ । अब भद्रपुर भन्सारले ९ परिवारलाई २० करोड १३ लाख ८२ हजार ४०३ रुपैयाँ मुआब्जा दिन बाँकी रहेको भन्सार प्रमुख अमित तिवारीले बताए । उनले मुआब्जा दिइसकेपछि सो संरचना सरकारको भइसकेकाले खाली गराउने प्रक्रिया शुरु गरिएको जानकारी दिए ।

सरकारले गत जेठमा भद्रपुर भन्सार मुआब्जापीडितको लागि थप ३० करोड रकम पठाएको थियो । त्यसअघि २०८० जेठ १ गते पहिलो चरणमा १० करोड निकासा गरेको थियो । भद्रपुर–गलगलिया सीमा नाका जोड्ने मेची नदीमा पक्की पुल सञ्चालनमा आएपछि सरकारले २०७५ भदौ १ गते छोटीबाट स्तरोन्नति गर्दै भद्रपुर भन्सार कार्यालयलाई मूल भन्सार बनाएको थियो ।पुरानै संरचनामा मूल भन्सार कार्यालयमा परिणत गरेपछि भन्सार विभागले भद्रपुर भन्सारको स्तरोन्नतिसँगै नयाँ भौतिक संरचना निर्माणका लागि बाटोको उत्तरपट्टी जमिन अधिग्रहण गरेको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्