बिर्तामोड, असार २५ ।ज्ञानुराम प्रसाई स्मृति प्रतिष्ठानले अधुवा खोला करिडोरमा वृक्षरोपण गरेको छ ।

बिर्तामोडका सामाजिक तथा राजनीतिक व्यक्तित्व ज्ञानुराम प्रसाईको स्मृतिमा प्रतिष्ठानले मंगलबार कोरिडोर क्षेत्रमा वृक्षरोपण गरेको हो ।

स्वर्गीय प्रसाईको तेस्रो स्मृति दिवसका अवसरमा अधुवा खोला कोरिडोरमा वृक्षरोपण प्रारम्भ गरिएको ज्ञानुराम प्रसाई स्मृति प्रतिष्ठानका अध्यक्ष बद्रीप्रसाद भट्टराईले बताए ।

ग्रीन बेल्टको अवधारणास्वरूप कोरिडोर क्षेत्रमा सामाजिक संघसंस्थाको अग्रसरतामा वृक्षरोपण गर्ने नीतिअनुसार पहिलोपटक प्रतिष्ठानले बिरुवा रोपेको अध्यक्ष भट्टराईले जानकारी दिए ।

वृक्षरोपण कार्यक्रममा प्रतिष्ठानकी प्रमुख संरक्षक पवित्रा महतारा प्रसाईसहित प्रसाई परिवारका सदस्यहरू, प्रतिष्ठानका पदाधिकारी, जनप्रतिनिधि र एमाले नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

यसअघि प्रतिष्ठानले स्वर्गीय प्रसाईको सम्झनामा स्मृति सभा आयोजना गरेको थियो । २०७८ असार २५ गते अल्पायुमै ज्यान गुमाएका प्रसाईको तेस्रो स्मृति दिवसका अवसरमा सभा आयोजना गरिएको हो ।

सभामा एमाले नेताहरूले स्वर्गीय प्रसाईको सामाजिक तथा राजनीतिक योगदान र व्यक्तित्वमाथि चर्चा गरेका थिए । एमाले झापाका अध्यक्ष प्रेम गिरीले झापाको पार्टी जीवनमा प्रसाईको अभाव सधैँ खड्किरहने बताए ।

‘दृढ अठोट भएको लगनशील र निष्ठावान राजनीतिक तथा सामाजिक व्यक्तित्वका रूपमा प्रसाईलाई यो समाजले सधैँ सम्झिरहनेछ’, स्मृति सभामा अध्यक्ष गिरीले भने, ‘समाजलाई कसरी अगाडि बढाउने भन्ने चालकको रुपमा उहाँले काम गर्नुभएको थियो ।’

२०८० माघमा गठित प्रतिष्ठानले पहिलोपटक तेस्रो स्मृति दिवसका अवसरमा औपचारिक रूपमा स्मृति सभा आयोजना गरी प्रसाईलाई सम्झिएको हो । स्वर्गीय प्रसाईको योगदानलाई चिरस्थायी बनाइराख्नका लागि प्रतिष्ठान स्थापना गरिएको अध्यक्ष भट्टराईले बताए ।

पञ्चायतकालमा भूमिगत हुँदै शिक्षण पेशामार्फत राजनीतिक सक्रियता बढाएका प्रसाई तीन कार्यकाल अनारमनी गाविस र बिर्तामोड नगरमा पार्टीका तर्फबाट अध्यक्ष भए । केही समय वैदेशिक रोजगारीमा बसेर नेपाल फर्किएयता राजनीति तथा सामाजिक अभियानमा उनको सक्रिय सहभागिता रह्यो ।

मनमोहन सामुदायिक अस्पताल, प्रसाई ट्रस्ट, नवीकरणीय ऊर्जा, झापा इनर्जी, झापा नाटकघर, देवी मावि लगायतका संघसंस्थामा रहेर प्रसाईले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्