इलाम,असार २६ । वैदेशिक रोजगारीबाट फर्किएका युवालाई गाउँघरमै व्यावसायिक बनाउन सूर्योदय नगरपालिकाले विभिन्न क्षेत्रमा युवालक्षित कार्यक्रम सुरु गरेको छ ।

वैदेशिक रोजगारीबाट घर आएर अलमलमा परेका युवालाई पुनः व्यावसायिक बनाएर आय–आर्जनमा सघाउ गर्न नगरपालिकाले तरकारी खेती, कुखुरापालन र बाख्रा पालनमा सहयोग गर्न थालेको हो ।

नगरपालिकाले वडा –४ र वडा –१४ का ४१ जना युवालाई तरकारी खेती, कुखुरापालन र बाख्रापालनसम्बन्धी तालिम दिएर चक्रीय बीउपुँजीमार्फत व्यवसाय सञ्चालनमा सहयोग गरेको जनाएको छ ।

नगरपालिकाले जारी गरेको स्वरोजगार कार्यविधि २०८१ अनुसार वडा –४ का चार जना युवाले कुखुरा पालनमा सहयोग प्राप्त गरेका छन् । सहयोगपछि आफूले कुखुरा पालन सुरु गरेको वडा –४ का सपना सुवेदीले बताइन् । सुवेदीले स्थानीय जातका एकसय बढी चल्ला हालेको । मुखियासँगै सोही स्थानका विराज तामाङ र देउकुमार सुवेदीले समेत कुखुरापालन सुरु गरेका छन् ।

यस्तै, वडा –१४ का मेनुका आचार्य, रविनकुमार लिङ्दम, रामेश्वर पौडेल, लोकबहादुर समाल, घनेन्द्रबहादुर पौड्याल, लोकबहादुर पौड्यालले बाख्रापालन र टनेलमा तरकारी खेती सुरु गरेका छन् ।

स्विस सरकार र नेपाल सरकारको द्विपक्षीय सम्झौता, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, कोशी प्रदेश सामाजिक विकास मन्त्रालय, स्थानीय सरकारको समन्वय तथा हेल्भेटास नेपालको प्राविधिक सहयोगमा सञ्चालित परियोजनामा प्रायः विदेशबाट फर्किएकालाई सहभागी गराइएको वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिको पुनः एकीकरण कार्यक्रमका संयोजक ईश्वरी तामाङले जानकारी दिए ।
तामाङका अनुसार यो परियोजनाबाट व्यवसायका लागि चार जनालाई प्रति व्यक्ति एक लाख रुपियाँका दरले सहयोग गरिएको छ । केहीलाई ३० हजार, केहीलाई २० हजार र केहीलाई १५ हजारका दरले पनि सहयोग उपलब्ध गराइएको छ । एक लाख रुपियाँ र ४० हजार सहयोग प्राप्त गर्नेहरुले तीन वर्षपछि साँवा चाहिँ चक्रीय बीउपुँजीमा फिर्ता गर्नुपर्ने सर्त रहेको कार्यक्रम संयोजक तामाङले बताए ।

यो कार्यक्रमले विदेश गएर फर्किएका सूर्योदय नगरपालिकाभित्रका आप्रवासी कामदारका निम्ति पुनः एकीकरणको जग तयार पार्दैलाने विश्वास रहेको नगरपालिका प्रमुख रणबहादुर राईले बताए । कार्यक्रम प्रभावकारी कार्यान्वयन गरेर गाउँ–घरमै रोजगारीको अवसर दिलाउन आफूहरु प्रतिबद्ध रहेको नगरप्रमुख राईको भनाइ छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्