भद्रपुर ,असार २७ । बिर्तामोड– चन्द्रगढी सडकखण्ड निर्माण नभएको भन्दै भद्रपुरबासीहरुले लगातार आन्दोलन गर्दै आएका छन् ।

उनीहरुले नेकपा एमाले अध्यक्ष केपी ओली, कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन लापता भएको भन्दै ती नेताहरुको तस्वीर सार्वजनिक गरेका छन् । यसरी जनताको समस्याप्रति ती जिम्मेवार नेताहरु गैरजिम्मेवार भएको आरोप लागिरहँदा कांग्रेस महामन्त्री शर्मा आज स्वयं प्रभावितहरुसमक्ष उपस्थित भएका छन् ।

उनले समस्याबाट प्रभावित भएर आन्दोलित भद्रपुरबासीसमक्ष उपस्थित भएर सान्त्वना दिएका छन् । महामन्त्री शर्माले बिर्तामोड–चन्द्रगढी सडकखण्ड निर्माण कार्य सम्पन्न हुन अझै केहि समय लाग्ने बताए । भद्रपुर नगरपालिका वडा न. १० को कार्यालयमा नगरवासीहरुसंग भएको छलफलमा उनले यो आर्थिक वर्ष समाप्त भइसकेको र ठेक्का लागेको रकम बराबरको काम पुरा भएपछि मात्र थप बजेट माग्न मिल्ने भएकोले निर्माण कार्य ढिलो हुने बताए । छलफलमा थप बजेट माग गर्न भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेलको नेतृत्वमा वडा न. ७ का वडा अध्यक्ष अभिषेक ढुंगाना र वडा न.१० का वडा अध्यक्ष टेकवहादुर खडका काजी सदस्य रहने गरी समिति गठन गरिने भएको छ ।

देउनियादेखि पूर्वपट्टिको सडकखण्ड बजेट अभावका कारण यस वर्ष निर्माण नहुने भएपछि स्थानीयहरु आन्दोलित बनेका छन् । वर्षा लागेसंगै सडक हिलाम्मै हुँदा कहिले धान रोप्दै त कहिले सांसदहरु ‘लापता’ भएको तस्वीर राखेर उनीहरु आन्दोलित छन् ।

सामाजिक संजालमा सदरमुकाम ट्रोल नै बनिसकेको छ । गरामनी–भद्रपुर सडकको ८.७ किलोमिटर सडकखण्ड निर्माण गर्ने ठेक्का काठमाडौंको कन्टेक प्रालिले लिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्