झापा, असार २८ । झापालाई १६ महिनादेखि पाँच वर्ष मुनिका बालबालिकाहरुले पूर्ण खोप पाएको सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ ।

खोपको माध्यमबाट रोगको रोकथाम, निवारण र उन्मूलन गरी शिशु, बाल, मातृ तथा अन्य व्यक्तिको मृत्युदर घटाउन र खोप सेवाको विस्तार र सुदृढीकरण गरी गुणस्तरीय खोप सेवाको निरन्तरता रहेको भन्दै शुक्रवार एक समारोहका बीच झापालाई पूर्ण खोप सुनिश्चतता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो । कोशी प्रदेश सरकारका स्वास्थ्य मन्त्री राजेन्द्र कार्कीले पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरे । उनले असार ३० गते सिंगो कोशी प्रदेशलाई नै पूर्ण खोप सुनिश्चतता दिगोपना प्रदेश घोषणा गरिने बताए । स्वास्थ्य मन्त्री कार्कीले स्वास्थ्य मन्त्रालयले महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई उच्च मूल्यांकन गरेको दावी गरे ।

स्वास्थ्य कार्यालय झापाका अनुसार सबै १५ वटा स्थानीय तहका १३१ वटै वडामा घरधुरी सर्वेक्षण गरी पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो । जन्मेदेखि १५ महिना मुनिका १५ हजार ६ सय ९३ जना , १६ महिनादेखि ५९ महिनासम्मका ३९ हजार ४ सय ८८ जना र छुटेका ६३४ जना बालबालिकालाई खोप लगाइएको जिल्ला खोप समन्वय समितिका सदस्य सचिवसमेत रहेका स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाह्रकोटीले बताए । सबै बालबालिकाहरुले जन्मपश्चात् पाउनुपर्ने सबै खोपहरु पाएको सुनिश्चित गर्न हरेक वर्ष पुष महिनादेखि शुरु भई झापा जिल्लाका सबै स्थानीय तहअन्तर्गतका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र स्वयंसेविकाहरु घरघरमा गएर ५ वर्षसम्मका खोप लगाउन छुट बालबालिकाहरुको खोजी गरी भेटिएका सम्पूर्ण बालबालिकाहरुलाई खोप लगाउने कार्य गरी जिल्लालाई पूर्ण खोप जिल्ला घोषणा गरिएको उनले जानकारी दिए ।

जिल्ला खोप समन्वय समिति झापाको आयोजनामा जिल्ला समन्वय समितिको सभाहलमा भएको घोषणा कार्यक्रममा जिल्लामा खोपको अबस्थाबारे जिल्ला खोप समन्वय समितिका सदस्य सचिव बाह्रकोटीले प्रतिवेदन प्रस्तुत गरेका थिए । जिल्ला समन्वय समिति झापाका प्रमुख बिश्वनाथ बरालको अध्यक्षता तथा स्वास्थ्य मन्त्री कार्कीको प्रमुख आतिथ्यता भएको कार्यक्रममा ६० बर्ष उमेर पुगी अनिवार्य अवकास पाएका २६ जना स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रमाणपत्र र नगदसहित बिदाइ गरिएको थियो । कार्यक्रममा जनप्रतिनिधिहरुका तर्फबाट गौरीगञ्ज गाउँपालिकाकी उपाध्यक्ष पुजन न्यौपाने कुँवर , विदाई हुने स्वास्थ्य स्वयंसेविकामध्येबाट भद्रपुर ६ की देशमाया विष्टलगायतले बोलेका थिए ।

कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं २ गण हे.क्वा झापाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक कविन्द्र राई, झापा जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक मिलन के.सी.,झापा जिल्ला अनुसन्धान प्रमुख कुलचन्द्र नेपाल, स्थानीय तहका जनप्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्