आज अर्थात् असार २९ गते । नेपाली साहित्यका स्मरणीय र वन्दनीय स्रष्टा भानुभक्त आचार्यको २११औँ जन्मजयन्ती । वि.सं.१८७१ साल आजकै दिन तनहुँ जिल्लाको चुँदी,रम्घामा जन्म लिएर नेपाली साहित्यलाई जनजिब्रोमा पुर्याउने भानुभक्त साँच्चै चम्किलो भानु हुन् । तत्कालीन नेपाली समाजभित्रको संस्कार सुहाउँदो काव्य रचनाले भानुभक्तलाई जनजनमा पुर्याएको थियो । जहानियाँ राणाशासनको दबदबा भएको अवस्थामा साहित्य सिर्जनाभित्र सिन्डिकेट लागिरहँदा भानुभक्त तिनै राणा शासकका प्रिय सर्जक बनेका थिए । रामायणजस्तो गौरवशाली महाकाव्य उपहार प्रदान गर्ने आचार्य नेपाली साहित्यको जग बसाल्ने स्रष्टा हुन् ।
बुबा धनन्जय आचार्य र आमा धर्मावतीका सुपुत्र भानुभक्त प्रश्नोत्तर, वधूशिक्षा, भक्तमाला, रामगीता, रामायण जस्ता सफल कृतिका सर्जक हुन् । त्यसमा रामायणलाई सर्वाधिक लोकप्रिय रचना मानिन्छ । रामायण संस्कृतको अनुवाद गरिएको कृति हो । अनुदित कृति भए तापनि यसमा आदर्श अनुवाद छ । रामायणको अनुवादमा संस्कृतको प्रभाव पटक्कै देखिँदैन । यसले नेपाली जनजीवन, परिवेश, संस्कृति र सभ्यतालाई अँगालेको छ । रामायणभित्र छुट्टै दार्शनिक चिन्तनसमेत भेट्न सकिन्छ । त्यतिखेर रामायण यति लोकप्रिय थियो कि मानिसहरू त्यसभित्रका श्लोकहरू कण्ठस्थ सुनाउन सक्थे भनी समालोचकहरू बताउँछन् । रामायणमा प्रयुक्त शार्दूल विक्रीडित छन्दका मधुर पङ्क्तिका कारण यस छन्दलाई भानुभक्तीय छन्दसमेत भन्ने गरिन्छ । भाषाको नभई भावको अनुवाद देखिएकाले रामायणमा प्रशस्त मौलिकता भेटिन्छ । पूर्वीय मान्यता, दर्शन र रहन सहनलाई सुन्दर ढङ्गबाट प्रस्तुत गरिएकाले नै रामायणले उच्च सम्मान प्राप्त गरेको हो । पृथ्वीनारायण शाहले बाइसे चौबिसे राज्यलाई एकीकरण गरी नेपाललाई एकताको सूत्रमा बाँधे भने भानुभक्तले रामायणबाट लोककल्याणकारी काम गरी भाषाका माध्यमबाट जनतालाई एकताबद्ध गर्न सफल भए भन्ने कतिपय समीक्षकको ठम्याइ छ । रामायण धार्मिक, आध्यात्मिक र नैतिक चिन्तन बोकेको गुरुतर कृति हो भन्नेमा दुविधा छैन । रामायणका प्रत्येक काण्डमा अभिव्यञ्जित दृष्टिकोणमा नेपालीपन छ । रामकथालाई सरल ढङ्गबाट नेपाली जनजिब्रोमा पुर्याउनु भानुभक्तको सफल काव्य साधना हो ।
भानुभक्त आचार्य प्राथमिक कालीन रामभक्ति धाराका केन्द्रीय कवि हुन् । उनलाई चिनाउन मोतीराम भट्टको अहम् भूमिका रहेको छ । मोतीरामले नै घाँसीबाट प्रेरणा पाएर भानुभक्त साहित्य सिर्जनामा लागेका हुन् भनी बताएका छन् । आचार्यका सिर्जनालाई प्रकाशन गर्न र पाठकसम्म पुर्याउन मोतीरामले खेलेको भूमिका स्तुत्य छ । भट्टले नै सर्वप्रथम भानुभक्तलाई आदिकवि उपाधि प्रदान गरेका हुन् । त्यसैले अहिले आचार्य आदिकवि भानुभक्त आचार्यका नामले नेपाली साहित्याकाशमा सम्मानपूर्वक चम्किएका छन् । आदिकविको सिधा अर्थ सुरुका कवि भन्ने हुन्छ । भानुभक्त आचार्यभन्दा अघि पनि कविहरूले कविता सिर्जना गरेका थिए । यसलाई आधार मानेर भानुभक्तलाई आदिकवि मान्नु हुँदैन भन्ने कतिपय विद्वान्को मत रहेको छ । तथापि कविताको मर्म बुझी मौलिकतासँगै भाव प्राधान्य कविता सिर्जना गर्न सक्ने सामर्थ्य भानुभक्तभन्दा अगाडिका कविहरूमा नदेखिएकाले उनलाई आदिकवि मानिनुपर्छ भन्ने मत बलियो भएकैले हामी उनलाई आजसम्म आदिकवि भानुभक्तका नामले सम्झिरहेका छौँ र पछिसम्म सम्झिरहने छौँ ।
प्राथमिक कालमा नेपाली साहित्य भर्खरै बामे सर्दै गरेको अवस्थामा भानुभक्त आचार्य जस्ता कुशल साहित्य शिल्पीको उदय भयो । उनको उदय नेपाली साहित्यका लागि सुनौलो किरण बन्यो । उनले साहित्याकाशमा भानु बनेर चम्किलो प्रकाश छरी नेपाली साहित्यलाई प्रकाशमय बनाए । उनै भानुलाई यिनै शब्द गुच्छाबाट हार्दिक श्रद्धा सम्मान !