झापा, असार २९ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको अठारौं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।

संचालक समितिका अध्यक्ष महेन्द्रकुमार गोयलको अध्यक्षतामा सम्पन्न साधारणसभाले बैंकको आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण र लेखापरीक्षकको नियुक्तिलगायतका प्रस्तावहरु पारित गरेको छ ।

प्रादेशिक बैंकको रुपमा झापा जिल्लाको बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको यस बैंकको कार्यक्षेत्र कोशी प्रदेश रहेकोमा हाल झापा, इलाम, मोरङ, पाँचथर, सुनसरी र उदयपुरका विभिन्न ४५ स्थानमा अवस्थित आफ्ना कार्यालयहरुमार्फत ग्राहकहरुसमक्ष बैंकिङ सेवा प्रदान गरिरहेको छ । संखुवासभाको खाँदवारी र धनकुटाको धनकुटा बजारमा शाखा संचालनका लागि तयारी भइरहेको बैंकले जनाएको छ । आगामी दिनमा कोशी प्रदेशका अन्य जिल्लाहरुमा समेत शाखा विस्तार गर्दै लैजाने नीति बैंकले लिएको प्रमुख कार्यकारी अधिकृत डा. ईन्द्रकुमार कट्टेलले बताए । उनले बैंकको वर्तमान गतिविधिको वारेमा जानकारी दिएका थिए ।

यस बैंकको हालसम्म लगानीमा रहिरहेको कर्जा लगभग रु ११ अर्ब ४१ करोड रहेको छ भने निक्षेप संकलन लगभग रु १४ अर्व ७१ करोड गरेको सञ्चालक समितिका अध्यक्ष गोयलको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

सञ्चालक समितिका अध्यक्ष गोयल र नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष हेमराज ढकालले संयुक्त रुपमा उद्घाटन गरेको साधारणसभामा सञ्चालक राजन शर्माले स्वागत मन्तव्य र संचालक पर्शुराम दाहालले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रमको संचालन कम्पनी सचिव श्यामबहादुर बोहोराले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष ढकाल, संस्थापक शेयरधनीहरु डा. रुपकप्रसाद खनाल र सुरेशकुमार अग्रवालले बैंकको उन्नति तथा प्रगतिका लागि शुभकामनासहितको मन्तव्य राखेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्