द्रोण अधिकारी,
भद्रपुर । झापाको पहिलो र स्तरीय उपचार सेवा प्रवाह गर्ने पहिचान बनाएको सर्पदंश उपचार केन्द्र चारआलीले हरेक वर्ष एक हजार बढीको उपचार गर्दै आएको छ ।

स्थापनाको दुई दशकमा उपचार केन्द्रले सर्पदंशका २० हजार बढी विरामीको सफल उपचार गरेको उपचारमा आएका विरामीको तथ्यांकले देखाएको छ ।
मेचीनगर नगरपालिका–१३ चारआलीस्थित नेपाली सेनाको कम्पाउण्डमा रहेको सर्पदंश उपचार केन्द्रले दुई दशकमा २० हजारभन्दा बढी मानिसलाई सर्पको विष मुक्त गर्दै अकाल मृत्युबाट बचाएको हो ।
२०६० चैत ५ गते समुदायलाई हस्तान्तरण भएको उपचार केन्द्र नेपाली सेना र समुदायको साझेदारीमा सञ्चालित २५ शय्याको अस्पतालको रूपमा रहेको छ । उपचार केन्द्रमा इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम तथा छिमेकी मुलुक भारतको पश्चिम बंगालका दार्जिलिङ, सिलिगुडी र बिहारको किशनगञ्ज तथा ठाकुरगञ्जसम्मका सर्पदंशका बिरामी उपचारका लागि आउने गर्छन् ।
यहाँ सबै प्रकारका विषालु सर्पले डसेको उपचार हुने गर्छ । विगतमा झापाका सर्पदंशका बिरामी धेरै हुने गरेकामा पछिल्लो समय इलामका बिरामी बढेको उपचार केन्द्रले जनाएको छ । वर्षेनि एक हजारभन्दा बढीले उपचार पाइरहेको केन्द्रबाट २०८० सालमा सर्पले डसेका ९७६ जनाले उपचार लिएका थिए ।
पहाडमा गुर्वे र हरेउ सर्प विषालु मानिन्छ भने तराईमा गोमन र करेत अधिक विषालु हुने गर्छन् । समयमै उपचार नपाएमा विषालु सर्पले डसेको मानिसको मृत्यु हुन सक्छ ।
केन्द्रले विरामीको दर्ता शुल्क रु.१०० र साधारण उपचार सेवा शुल्क रु. ६०० मात्र लिने गरेको छ ।
उपचारका लागि बस्दा बेड शुल्क रु १०० तथा ५ भाइलसम्म औषधि (एन्टी स्नेक भेनम सिरम) को एक हजार ५ सय र ५ भाइलभन्दा जतिसुकै धेरै लागेपनि तीन हजार मात्र शुल्क लिने गरिएको छ भने विपन्न र असहाय विरामीका लागि निःशुल्क उपचार गर्दै आएको जनाइएको छ ।