झापा,असार ३० । ताप्लेजुङमा घरेलु हिंसाका घटना वृद्धि भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को तथ्याङ्कअनुसार जिल्लामा घरेलु हिंसासम्बन्धी घटना वृद्धि हुँदै गएको पाइएको हो।

इन्सेक प्रतिनिधि एलिना दियालीका अनुसार पछिल्लो छ महिनाको अवधिमा घरेलु हिंसासम्बन्धी घटना मात्र १६ वटा भएका छन् । नेपाल मानवअधिकार वर्ष पुस्तक–२०२५ तयारी स्वरुप शनिबार आयोजित अर्ध–वार्षिक समीक्षा कार्यक्रममा इन्सेक प्रतिनिधि दियालीले प्रस्तुत गरेको प्रतिवेदनमा मानवअधिकार उल्लङ्घनसम्बन्धी ३० वटा घटना भएकोमा सबैभन्दा बढी १६ वटा घरेलु हिंसासम्बन्धी रहेको छ ।

सन् २०२४ को जनवरीदेखि जुनसम्म अर्थात छ महिनाको अवधिमा भएको घरेलु हिंसासम्बन्धी घटनाबाट एकजना पुरुष १६ महिला गरी १७ जना पीडित भएका छन् । घरेलु हिंसासम्बन्धी घटनामा श्रीमान–श्रीमतीबिच अर्थात पारिवारिक झैझगडा बढी रहेको इन्सेक प्रतिनिधि दियालीले जानकारी दिइन् । सन् २०२३ मा वर्षभरमा घरेलु हिंसासम्बन्धीका १८ वटा मात्र घटना भएका थिए ।

यस्तै छ महिनामा कुटपिटसम्बन्धी छ वटा, करणीसम्बन्धी छ वटा, जातीय विभेदसम्बन्धी एक र आत्महत्या दुरुत्साहनसम्बन्धी एउटा घटना भएको छ । इन्सेक प्रतिनिधि दियालीले ताप्लेजुङ कारागारमा क्षमताभन्दा पाँच गुणा बढी कैदी तथा थुनुवा रहेकाले पूर्ण मानवअधिकार कायम हुनमा समस्या रहेको प्रतिवेदनमा उल्लेख गरेकी छन् । कैदीबन्दीको संख्याअनुसार आवास, शौचालय, खानेपानी लगायतका संरचना व्यवस्थापनले उनीहरुको बसाइमा भने भद्रगोल अवस्था नरहेको कारागारका प्रशासक कुलेन्द्र खवासले जानकारी दिए ।

अर्ध–वार्षिक समीक्षा कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले यथार्थ तथ्याङ्कसहित अन्य थुप्रै प्रकृतिका मानवअधिकार उल्लङ्घनका घटना हुनसक्ने भन्दै प्रतिवेदनमा सबै घटनाहरु समेट्न सुझाव दिए । प्रतिवेदनमा उल्लेख गरिने घटना र मानवअधिकार वर्ष पुस्तकमा प्रकाशन हुने जिल्लाको विवरण यथार्थ हुनुपर्ने पनि प्रजिअ आचार्यले जोड दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्