झापा, असार ३१ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनीयताको शपथ लिँदैछन्। शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीलाई आज बिहान ११ बजे शपथ ग्रहण गराउने कार्यतालिका छ।

प्रधानमन्त्रीमा दाबी पेश गर्ने समय सकिएपछि राष्ट्रपति पौडेलले आइतबार अपराह्न ओलीलाई संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री नियुक्त गरेका हुन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीबाट शुक्रबार पदमुक्त भएपछि एमाले र कांग्रेसको समर्थनमा ओली पुनः सरकारको नेतृत्व गर्न पुगेका हुन्। ओली चौथो पटक नेपालको प्रधानमन्त्रीमा बनेका हुन्।

शपथ ग्रहण समारोहमा उपस्थितिको लागि संघीय सांसदलाई बिहान १०ः३० बजेभित्र शीतल निवास प्रवेश गरिसक्न पत्राचार भएको छ। ओलीले शपथ ग्रहण गरेसँगै आजै मन्त्रिमण्डल विस्तार गर्नेछन्। एमाले र कांग्रेसबीच मन्त्रालय र मन्त्रीको नाम मोटामोटी टुंगिसकेको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्