झापा, असार ३१ । सब्स्टिच्युट लउटारो मार्टिनेजले अतिरिक्त समयमा गरेको गोलमा अर्जेन्टिनाले कोपा अमेरिकाको फाइनलमा कोलम्बियालाई १–० ले पराजित गर्दै सोमबार उपाधि जितेको छ । यससँगै डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले उपाधिको रक्षा पनि गरेको छ ।
विश्व च्याम्पियन पनि रहेको अर्जेन्टिनाले कोपा अमेरिका जितेको यो लगातार दोस्रो पल्ट हो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगेपछि प्रतिस्पर्धा अतिरिक्त समयमा गएको हो ।
त्यसको १ सय १२ औं मिनेटमा जियोभानी लो सेल्सोको सटिक पासमा इन्टर मिलानका फरवार्ड मार्टिनेजले गोल गरेका हुन् । यस जितसँगै अर्जेन्टिना कोपा अमेरिकाको सबैभन्दा सफल टिम भएको छ ।
उसले दक्षिण अमेरिकी फुटबलका सबैभन्दा ठूलो प्रतियोगिता जितेको यो १६ पटक हो । यसअघि १५ पटक जितेर उरुग्वेसँग बराबरीमा रहेको थियो ।अर्जेन्टिनाका लागि एन्जेल डी मारियाले अन्तिम पटक खेले र यससँगै उनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । सम्भवतः आफ्नो अन्तिम कोपा अमेरिका खेलिरहेका लियोनल मेसी भने पूरा समय मैदानमा रहेनन् । चोटका कारण खेलको ६५ औं मिनेटमा उनी मैदान छाड्न बाध्य भए ।