झिलझिले, साउन २ । झापाको सताक्षीधाममा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा सुरु भएको छ ।

एक महिनाअघि जेष्ठ शुक्ल एकादशीका दिन सताक्षीधामका १०८ तुलसी मोठमा राखिएको दलको बिरुवा बुधबार रोपिएको हो । तुलसीको बिरुवा रोपेपछि द्वादशज्योर्तीलिङ्गमा सामूहिक पूजा गरिएको थियो ।

सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ । आजदेखि कात्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा सताक्षीधाममा हुने गरेको छ । सताक्षीधामस्थित गोलोक गोवर्द्धन गौशाला क्षेत्रका मोठमा एकैसाथ तुलसीको बिरुवा रोपिएको गौशालाले जनाएको छ ।

आषाढ शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीर सागरमा शयन गर्ने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको गोलोक गोवर्द्धन गौशालाका संरक्षक नन्दकिशोर जी महाराजले जानकारी दिए । ‘भगवान् विष्णु शयन गर्ने चार महिनालाई चतुर्मासा पनि भनिन्छ,’ उनले भने ।


एक वर्षमा २४ एकादशी पर्छन् । सक्नेले सबै एकादशीमा फलाहार मात्र गरेर व्रत बस्छन् । नसक्नेले चतुर्मासाका चार महिनामा पर्ने आठ एकादशीमा व्रत बस्छन् ।

कामकाजमा सक्रिय हुनुपर्ने र चार महिनासम्म पनि फलाहार गर्न नसक्नेले भने हरिशयनी एकादशी र हरिबोधिनी एकादशीका दिन फलाहार गरी व्रत बस्ने गर्छन् ।

हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि सताक्षीधामको राम मन्दिर परिसरका तुलसी मोठमा भक्तजनको भीड लागेको छ । झापा, मोरङ, सुनसरीलगायतका जिल्लाका सर्वसाधारण भक्तजनको सताक्षीधाममा घुइँचो छ ।

एकादशीका दिन विशेषगरी चामलबाट बनेका परिकार नखाई रोटी, ढिँडोलगायत फलाहार खाने गरिन्छ । वैज्ञानिकरूपमा पनि बढी अक्सिजन पाइने प्रमाणित भएको तुलसी विभिन्न रोगका लागि औषधिका रूपमा समेत प्रयोग गरिन्छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्