झापा, साउन २ । झापामा सवारी दुर्घटना घटेको तथ्यांकले देखाएको छ ।
तीन वर्षको सवारी दुर्घटनाको विवरणलाई हेर्दा आर्थिक वर्ष २०८०–०८१ मा सवारी दुर्घटनाको दर र मानवीय क्षति घटेको हो । आर्थिक वर्ष २०७८–०७९मा ६११ , २०७९–८० मा ८०४ र २०८०–०८१ मा ५९३ वटा सवारी दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । अघिल्लो वर्षको तुलनामा २०८०–०८१ मा सवारी दुर्घटना २६.२४ प्रतिशतले घटेको हो ।
दुर्घटनाको संख्यासंगै मानवीय क्षति पनि घटेको छ । २०७८–०७९मा ९६ पुरुष , १५ महिला र ५ बालबालिका गरी जम्मा ११६ जनाको मृत्यु भएको थियो भने २०७९–०८० मा ८२ पुरुष , २४ महिला र ८ बालबालिका गरी ११४ जनाले दुर्घटनमा ज्यान गुमाएका थिए । तर, आर्थिक वर्ष २०८०–०८१ मा ७१ पुरुष , १० महिला र ६ बालबालिका गरी ८७ जनाको सवारी दुर्घटनामा मृत्यु भएको विवरणमा उल्लेख छ । जुन अघिल्लो वर्षको तुलनामा २३.६८ प्रतिशतले कम हो ।
त्यस्तै सख्त घाइते र सामान्य घाइतेको संख्या पनि घटेको छ । २०७८–०७९ मा १८७ पुरुष , ४१ महिला र २६ बालबालिका गरी २५४ जना सख्त घाइते भएका थिए भने २०७९–०८० मा १३५ पुरुष २६ महिला र १२ बालबालिका गरी सख्त घाइते हुनेहरुको संख्या १७३ रहेको थियो । तर, २०८०–०८१ मा १३१ पुरुष , २४ महिला र ९ बालबालिका गरी १६४ जना सख्त घाइते भएका छन् । जुन अघिल्लो वर्षको तुलनामा ५.२ प्रतिशतले घटेको हो ।
त्यस्तै २०७८–०७९ मा ४९७ पुरुष, १४० महिला र ६५ बालबालिका गरी ७०२ जना सामान्य घाइते भएका थिए भने २०७९–०८० मा ७९६ पुरुष ,२२१ महिला र ८३ बालबालिका गरी ११०० जना सामान्य घाइते भएका थिए । तर, २०८०–०८१ मा ५६७ पुरुष , १८० महिला र ५६ बालबालिका गरी ८०३ जना सामान्य घाइते भएका छन् । जुन अघिल्लो वर्षको तुलनामा २७ प्रतिशतले कम हो ।