झापा, साउन ३ । बिर्तामोडमा धारिलो हतियार प्रहार गरी लुटपाट गर्न खोज्ने दुईजना पक्राउ परेका छन् ।

गएराति ११ बजेको समयमा बिर्तामोड नगरपालिका वडा नम्बर ६ मा फुलबारीको नर्सरी व्यवसाय गर्दै आएका भारतीय नागरिक अन्दाजी बर्ष ३५ का हविबुल इस्लामलाई इलाम घर बताउने हाल बिर्तामोड नगरपालिका वडा नं.५ बस्ने बर्ष २१ का भद्रबहादुर बस्नेत र ताप्लेजुङ फुङलिङ नगरपालिका वडा नं.६ घर बताई हाल बिर्तामोड नगरपालिका वडा नं.६ बस्ने बर्ष २६ का रोहन तामाङले धारिलो हतियार छुरा प्रहार गरी घाईते बनाई फरार भएका थिए । त्यसअघि उनीहरुले एकजना साइकलयात्रीलाई लुटपाट गरेका थिए ।

इलाका प्रहरी कार्यालय अनारमनी र अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा राति १ः५० बजे बिर्तामोड ५ स्थित सुगम पेट्रोल पम्प नजिकबाट उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घाइतेको बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ । उनको ढाड र कुममा चोट देखिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्