झापा, साउन ३ । प्रादेशिक अस्पताल भद्रपुरको एआरटी केन्द्रमा उपचार गराइरहेका एचआइभी संक्रमितहरुले अब सबै किसिमका सुविधा पाउने भएका छन् ।

औषधि उपचारदेखि लिएर यातायात , खाजा ,कुरुवालाई खाजा , बाहिर पठाउँदा एम्बुलेन्स ,आइसियु , प्रयोगशाला खर्चलगायतका सेवा सुविधा एचआइभी संक्रमितहरुले पाउने भएका हुन् । ए.एच.एफ नेपालले सहकार्य सुरु गरेपछि ती सुविधाहरु विरामीहरुलाई उपलव्ध गराइने भएको हो । प्रादेशिक अस्पताल भद्रपुरमा एआरटी सेवालाई थप सहज र गुणस्तरीय बनाउन ए.एच.एफले आजदेखि तीन वर्षसम्मका लागि सहकार्य थालेको हो । जुन कार्यक्रमको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा. सर्वेश शर्मा, जिल्ला समन्वय समितिका प्रमुख विश्व बराल , प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रामबाबु खड्काले संयुक्त रुपमा उद्घाटन गरे ।

प्रादेशिक अस्पतालमा सन् २०२७ सम्म काम गर्ने गरी नेपाल सरकारसँग सम्झौता गरेको ए.एच.एफले एचआइभी संक्रमितहरुको उपचारमा सहयोग गर्ने जनाइएको छ । एचआइभी संक्रमितहरुका लागि जीवन लम्ब्याउन दिइने उपचार सेवा (एआरटी) लाई गुणस्तरीय बनाउँदै विरामीहरुको सुविधामा ए.एच.एफले सहयोग गर्ने ए.एच.एफ.का मार्केटिङ को–अर्डिनेटर राधेश्याम श्रेष्ठले बताए ।

प्रादेशिक अस्पतालमा सन् २००७ देखि एआरटीको सेवा सञ्चालन भइरहेको थियो । सो सेवालाई प्रभावकारी बनाउँदै संक्रमित बिरामीहरुलाई औषधि उपचार खर्चदेखि खाद्यान्न, यातायात खर्चसम्म सहयोग गर्ने ए.एच.एफले जनाएको छ । ए.एच.एफले प्रादेशिक अस्पताललाई १ जना जनशक्तिसमेत उपलब्ध गराएको छ ।
सन् २०३० सम्म एचआइभी निर्मूल गर्ने रणनीति अनुसार कार्यक्रमहरु सञ्चालन भइरहेका छन् । एचआइभी संक्रमितहरुले नियमित औषधि सेवन गरेमा अन्य नागरिकमा समेत नफैलिने बताइएको छ ।

एआरटी शाखाकी फोकल पर्सन कञ्चन नेपालीले प्रादेशिक अस्पतालमा २००७ देखि औषधि वितरण भइरहेको जानकारी दिइन् । उनले अस्पतालमा जाँच गरेका र औषधि सेवन गरिरहेकाहरुको विवरण समेत सार्वजनिक गरेकी थिइन् ।
अस्पतालको विवरण अनुसार झापामा एचआइभी संक्रमितहरुको संख्या हेर्ने हो भने २३२ पुरुष, २१४ महिला र १८ जना १५ वर्ष मुनिका बालबालिकाहरु रहेका छन् । ९८ जना उपचारका लागि नआएको बताइएको छ । फोकल पर्सन नेपालीले एआरटी सेवाका लागि २४५ जनाले स्थानान्तरण गरेको र ७८ जनाको मृत्यु भइसकेको जानकारी दिइन् ।
सेवा प्रारम्भ गर्ने कार्यक्रममा ए.एच.एफ नेपालका तर्फबाट राधेश्याम श्रेष्ठले संस्थाले सञ्चालन गर्दै आएको कार्यक्रमबारे जानकारी गराएका थिए ।


कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा. सर्वेश शर्माले एचआइभी संक्रमितहरुलाई विभेद गर्न नहुने बताए । उनले संक्रमितहरु पनि आफूजस्तै नागरिक सम्झिएर उपचार गर्न निर्देशन दिए । डा . शर्माले संक्रमितहरुको चित्कारलाई स्वास्थ्यकर्मीले विनाभेदभाव उपचार सेवा प्रदान गर्नुपर्ने बताए । हरेक दिन एक जना नयाँ संक्रमित फेला पर्ने र एक जनाको मृत्यु हुने गरेको उनको भनाई छ । उपचारका सन्दर्भमा उठेका जिज्ञासा तथा सवालहरुका बारेमा डा.शर्माले सहजीकरण गरेका थिए । ए.एच.एफका प्रमुख दिव्यराज जोशीले स्वागतसहित कार्यक्रमको औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा अस्पतालका निमित्त मेसु डा.रामबाबु खड्काले एआरटी सेवालाई प्रभावकारी रुपमा सञ्चालन गर्ने प्रतिवद्धता जनाएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्