झापा, साउन ३ । आफूले चलाएको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएपछि फरार भएका प्रदेश १–०१–००१ ख ३४२३ नम्बरको बसका कन्डक्टर तीन दिनपछि पक्राउ परेका छन् ।

बस कन्डक्टर शिवसताक्षी नगरपालिका वडा न. ६ बस्ने अन्दाजी २७ वर्षीय पुण्य सिटौलालाई गएराति १० बजे भारतको पानीटंकीबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए । दुर्घटनापछि फरार भएका सिटौलालाई खोजी गर्ने क्रममा भारतको पानीटंकीमा लुकिरहेको अबस्थामा पक्राउ गरेको उनले जानकारी दिए ।

असार ३१ गते साँझ कन्काईमा कन्डक्टर सिटौलाले चलाएको बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको थियो ।
साँझ अन्दाजी ७ बजेको समयमा कन्काई नगरपालिका वडा नम्बर २ पवित्रा पेट्रोल पम्पनजिक पूर्वपश्चिम राजमार्गमा विराटनगरबाट काँकडभिट्टातर्फ आउँदै गरेको प्रदेश १–०१–००१ ख ३४२३ नम्बरको बसले बिर्तामोडबाट सुरुङगातर्फ जाँदै गरेको को १९ प ६२८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक कमल गाउँपालिका वडा न. ५ बस्ने बर्ष अन्दाजी ४१ का लक्ष्मीप्रसाद सुब्बाको मृत्यु भएको हो ।

धरानबाट काँकडभिट्टातर्फ आउने क्रममा सो बसले दिउँसो ४.३० बजे बेलवारीमा अर्को मोटरसाइकललाई ठक्कर दिएको थियो । बसले मोटरसाइकल चालकलाई सामान्य ठक्कर दिई सवारी दुर्घटना हुँदा बस चालक ईलाम माई नगरपालिका वडा नम्बर ८ बस्ने अन्दाजी बर्ष २२ का सागर थुलुङ राई सोही स्थानमा झरी घाइते पक्षसंग छलफल गर्न बसेका थिए । सोही स्थानबाट बसका कन्डक्टर सिटौलाले चलाई ल्याउने क्रममा दुर्घटना भएको थियो । सिटौलासंग सवारी चालक अनुमतिपत्र रहेको बताइएको छ ।

प्रहरीले बसका चालक राई र सह–चालक बिराटनगर महानगरपालिका वडा नम्बर २ बस्ने वर्ष अन्दाजी १९ का दिपेश दर्जीलाई पनि नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्