बिर्तामोड , साउन ४ । महेन्द्ररत्न माध्यमिक विद्यालय अनारमनीमा रहेको भुतपुर्व विद्यार्थी समाजले यस वर्ष पनि गुरु पूर्णिमाका दिन पूर्व शिक्षक , कर्मचारी , विद्यालय व्यवस्थापन समितिका पूर्व पदाधिकारीलाई सम्मान गर्ने भएको छ ।

गुरु पूर्णिमाका दिन साउन ६ गते ९ जना पूर्व शिक्षक , कर्मचारी , विद्यालय व्यवस्थापन समितिका पूर्व पदाधिकारी र दुईजना अक्षयकोष दातालाई सम्मान गरिने भुतपुर्व विद्यार्थी समाजले जनाएको छ । आज पत्रकार सम्मेलन गरी विद्यालयका पूर्व शिक्षक रहेका कांग्रेसका पूर्व महामन्त्री तथा राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौला , संविधान सभा सदस्य सुधिरकुमार शिवाकोटीलगायतलाई सम्मान गरिने जनाएको छ ।

त्यस्तै पूर्व शिक्षकहरु डिल्लीमाया सिटौला , दीर्घकुमारी श्रेष्ठ , लखनलाल राजवंशी, पूर्व कर्मचारीहरु हरिप्रसाद चौधरी , विषम शिवाकोटीलाई पनि सम्मान गरिने समाजका अध्यक्ष राजकुमार पोखरेलले बताए । विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्षहरु स्व. काजी हरिभक्त खड्का र स्व. जय प्रतापजंग थापालाई मरणोपरान्त सम्मान गरिने उनले जानकारी दिए । त्यसैगरी अक्षयकोषका लागि एक लाख भन्दा बढी सहयोग गर्ने कमलराज विमली+ श्रद्धा विमली र विनु पोखरेल प्रसाई+चम्पक प्रसाईलाई पनि सम्मान गरिने अध्यक्ष पोखरेलले बताए ।

भुतपुर्व विद्यार्थी समाजले लगातार तेस्रो वर्ष गुरु सम्मान गर्न लागेको हो । यसअघि समाजले २२ जनालाई सम्मान गरिसकेको छ । गुरु सम्मान कार्यक्रमका लागि रुपक थापाको संयोजकत्वमा समिति गठन गरी तयारी भइरहेको उपाध्यक्ष मदनगोपाल सुब्बाले बताए । त्यस्तै विभिन्न उपसमितिहरु पनि गठन गरिएको उनले बताए । गुरु सम्मानको कार्यक्रममा पूर्व विद्यार्थी रहेका राष्ट्रिय कलाकार विमल बुढाथोकीको सांगीतिक प्रस्तुती रहने जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्