झापा, साउन ४ । हल्दिवारी गाउँपालिकाले भेलागुडी सिमसार क्षेत्रको पोखरी सफा गरेर प्रक्रियागत ढंगले निकालेको पुरुवा वितरण गर्ने बेलामा डिभिजन वन कार्यालयले रोकेपछि विवाद भएको छ ।

गाउँपालिकाका विभिन्न वडाका बाटोको खाल्डो पुर्नका लागि आज बिहान पुरुवा बितरण गर्न खोज्दा डिभिजन वन कार्यालयले रोकेको थियो । प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलासहित डिभिजन वन कार्यालयका प्रमुख मेघराज राईको टोली आएर स्टक गरिएको पुरुवा वितरण गर्न रोकेको थियो । गत असार महिनामा हल्दिवारी गाउँपालिकाले भेलागुडी सामुदायिक वन समितिको क्षेत्रभित्र रहेको पोखरी सफाई गरी त्यहाँबाट करिव ३४५ ट्रयाक्टर पुरुवा निकालेको थियो । सो पुरुवा भेलागुडीकै वनक्षेत्रमा स्टक राखिएको थियो । सोही स्टक पुरुवा वितरण गर्न वन कार्यालयले रोकेको गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देनले बताए । उनले सबै प्रक्रिया पुर्याएर र वन समितिसंग सहमति गरेर पोखरी सरसफाई गर्दा निस्किएको पुरुवा वितरण गर्न खोज्दा अवरोध आएको बताए ।

डिभिजन वन कार्यालयले भने भेलागुडी वनक्षेत्रबाट निकालिएको सो पुरुवा लिलामी गरेर आम्दानी आफ्नो कार्यालयको खातामा जम्मा गर्नुपर्ने बताएको थियो । डिभिजन वन कार्यालय र प्रहरी प्रशासनको कुरा स्थानीय जनप्रतिनिधिहरुले मानेनन् । उनीहरुले स्टक गरिएको पुरुवा वितरण गर्न थालेका छन् । वडा नं १ र २ का लागि ७०–७० ट्रयाक्टरको दरले र वडा नं ३,४ र ५ का लागि ६०–६० ट्रयाक्टरका दरले पुरुवा वितरण गर्न थालिएको गाउँपालिका कार्यालयले जनाएको छ । भेलागुडी सामुदायिक वन समितिसंग सहमति गरिसकेपछि पोखरी सफाई गर्ने बेलामा जिल्ला समन्वय समितिका प्रमुख , प्रमुख जिल्ला अधिकारी , डिभिजन वन कार्यालयका प्रमुखसहितलाई अनुगमनका लागि बोलाएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्