झापा, साउन ५ । कन्काई नदीमा काठ तस्करी बढेको छ । उत्तरतिरबाट चोरी तस्करी गरी खोलामा काठ बगाएर ल्याउने क्रम बढेको हो ।

१९ क्यु.फिट चिरान काठ फेला परेको भोलिपल्ट आज बिहान फेरि पिकअप गाडीसहित अवैध सखुवा जातको चिरान काठ बरामद भएको छ । बिहान अन्दाजी ३ः३० बजेको समयमा अस्थाई प्रहरी चौकी माईधारको प्रहरी टोली र गैडे सामुदायिक वन उपभोक्ता समितिको संयुक्त टोलीले गस्ती गर्दै जाने क्रममा शिवसताक्षी नगरपालिका वडा नं. १० टेक्रास्थित कन्काई नदी बगरमा मे १ च ६२३६ नं को पिकअप भ्यानमा सखुवा जातको ५२ क्यु.फिट चिरान काठ (फेन्टा) बरामद भएको हो । अन्दाजी १ लाख ५६ हजार मूल्य बराबरको काठ लोड गर्दै गरेको अवस्थामा फेला पारी नियन्त्रणमा लिने क्रममा संलग्न मानिसहरु गाडी र काठ छाडेर फरार भएका थिए ।

गाडीसहित उक्त काठलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि गैडे सामुदायिक वन उपभोक्ता समितिलाई बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यसअघि हिजो बिहान शिवसताक्षी १० स्थित कन्काई नदीमा गाडीको टिउमा बाँधी अवैध रुपमा चिरान काठ बगाई ल्याइरहेको अबस्थामा अन्दाजी ५७ हजार बराबरको १९ क्यु.फिट चिरान काठ फेला परेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्