बिर्तामोड, साउन ५ ।छठ महिला मञ्च बिर्तामोडले मुसहर महिलाहरुलाई निःशुल्क चुरा र मेहन्दी वितरण गरेको छ ।

बिर्तामोड–३ स्थित मुसहर बस्तीमा पुगेर त्यहाँका महिलाहरुलाई मञ्चका पदाधिकारी तथा सदस्यहरुले चुरा र मेहन्दी वितरण गरेका थिए ।

साउनमा अधिकांश महिलाका हात मेहन्दी र रातो, हरियो, पहेँलो चुराले सजिएको हुन्छ । नेपाली परम्पराअनुसार साउनलाई विशेष महत्वको महिना मानिन्छ । तर आर्थिक अभावकै कारण चुरा र मेहन्दी किन्न नसक्ने महिला नेपाली समाजमा रहेका छन् ।

त्यस्ता विपन्न महिलाहरुलाई लक्षित गरी सहयोग गरिएको छठ महिला मञ्च बिर्तामोडकी अध्यक्ष निशा शाह गुप्ताले बताइन् । मेहन्दी र चुराले मुसहर महिलाको मुहारमा खुशी देख्दा आफूहरु आनन्दित भएको गुप्ताले बताइन् । कार्यक्रममा मुसहर महिलाहरुलाई मेहन्दी लगाइदिएका थिए । साथै मञ्चले उनीहरुलाई दही चिउरासमेत वितरण गरेको थियो ।

बिर्तामोड नगरपालिकाका पूर्व कार्यपालिका सदस्य द्रौपदी गणेशको प्रमुख आतिथ्य तथा मञ्चकी अध्यक्ष निशा शाह गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मञ्चकी उपाध्यक्ष निशा कर्णले गरेकी थिइन् ।

मञ्चकी बरिष्ठ उपाध्यक्ष संगीता शाहले औचित्यमाथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन मञ्चकी महासचिव रेनुका महतोले गरेकी थिइन् ।

मुसहर महिलाहरुलाई प्रदान गरिएको मेहन्दी र चुरा बिर्तामोडस्थित अप्सरा चुरा पसलका सञ्चालक सुरज शाह र अन्जली शाहले निःशुल्क उपलब्ध गराएको मञ्चले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्