भद्रपुर ,साउन ६ । नेपाली कांग्रेस भद्रपुर नगर समितिले ४२ औ वीपी स्मृति दिवस मनाएको छ ।

कांग्रेसले भद्रपुर १० स्थित वीपी चौकमा रहेको वीपीको पूर्णकदको शालिकमा माल्यार्पण गरेको छ । कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश समिति सभापति तथा पूर्व मुख्यमन्त्री उद्धव थापाले माल्यार्पण गरेका थिए । कार्यक्रममा बोल्दै थापाले वीपीले प्रतिपादन गरेको सिद्धान्त नयाँ पुस्ताका लागि प्रेरणाको श्रोत बनेको बताए । उनले वीपीको त्यो बेलाको साहित्यिक तथा राजनितिक दर्शनले मात्र अहिलेको राजनीतिक व्यबस्था चलेको दावी गर्दैै वीपीले २०३३ सालमा भारतबाट नेपाल फर्कदा ल्याएको मेलमिलापको नीति नेपालका सबै राजनीतिक दलहरुमा लागु हुनु पर्ने बताए । थापाले वर्तमान कांग्रेस एमाले बीचको गठबन्धन देशको आवश्यकता भएको बताउँदै २०८४ सालको निर्वाचनसम्म दुवै पार्टी मिलेर जानुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाल महिला संघ झापाकी उपसभापति शर्मिला अधिकारीले नेपाली कांग्रेस पार्टीलाई कार्यकर्तामुखी पार्टी बनाइनु पर्नेमा जोड दिइन् । नगर सभापति राम कँडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत भद्रपुर १० का वडा सभापति विष्णु काफ्ले र संचालन नगर सहसचिव नन्दकुमार राजवंशीले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्