झापा, साउन ६ । झापा, मोरङ र सुनसरीको बिभिन्न स्थानहरुबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगर र गाँजासहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
हिजो राति १० बजे बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बाघखोरबाट खटिएको प्रहरी टोलीले झापाको दमक नगरपालिका–३ बेलडाँगी शिविरका २७ बर्षिय बिक्रम राईलाई घरमा लुकाई छिपाई राखेको १ ग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिएको छ ।
त्यस्तै हिजो बिहान साढे ४ बजे बिशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट बिष्णुपादुका सुनसरीबाट खटिएको प्रहरी टोलीले धरान–२० भञ्ज्याङ छेउबाट बागमती प्रदेश –०१–०२६ च ५०१९ नम्बरको कार र को २७ प ४८४७ नम्बरको मोटरसाइकलमा सवार इटहरी उप–महानगरपालिका–१० का ४० बर्षीय रामकुमार चौधरी र इटहरी–११ का ३६ बर्षीय मोहन कार्कीलाई १२ किलोग्राम गाँजासहित नियन्त्रणमा लिएको छ ।
यसैगरी मोरङको केराबारी–८ कदम खोलाको पुलबाट केराबारी–७ का १९ बर्षीय साजन लिम्बू, केराबारी–१ का २२ बर्षीय गोबिन राई, धनकुटा चौबिसे गाउँपालिका–५ का ३१ बर्षीय शक्ति लिम्बूलाई १ ग्राम ९२० मिलिग्राम ब्राउनसुगर र लागूऔषध ओसार पसारमा प्रयोग गरेको को २५ प ५९४५ नम्बरको मोटरसाइकलसहित इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको छ । अबैध लागूऔषधसहित पक्राउ परेका सबै जनाको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।