बिर्तामोड , साउन ६ । विद्यालय छाडेर गइसकेका पूर्व विद्यार्थीहरुले आफूहरुलाई पढाउने शिक्षक शिक्षिकाहरुलाई संझिने अनि सम्मान गर्ने असल संस्कार बन्दै गएको छ ।

विभिन्न विद्यालयहरुमा गठन भएका पूर्व विद्यार्थी समाजहरुले गुरु पूर्णिमाका अवसरमा शिक्षकहरुलाई गुरु सम्मान गरेका छन् । यसक्रममा महेन्द्ररत्न माध्यमिक विद्यालय अनारमनीमा रहेको भुतपूर्व विद्यार्थी समाजले यस वर्ष पनि गुरु पूर्णिमाका दिन पूर्व शिक्षक , पूर्व कर्मचारी , विद्यालय व्यवस्थापन समितिका पूर्व पदाधिकारी र अक्षयकोष दातालाई सम्मान गरेको छ । विद्यालय परिसरमा एक कार्यक्रमको आयोजना गरी पूर्व शिक्षक , पूर्व कर्मचारी , विद्यालय व्यवस्थापन समितिका पूर्व पदाधिकारी र अक्षयकोष दाता गरी १० जनालाई सम्मान गरिएको हो ।

सम्मानित हुनेहरुमा विद्यालयका पूर्व शिक्षक रहेका संविधान सभा सदस्य सुधिरकुमार शिवाकोटीलगायत छन् । त्यस्तै पूर्व शिक्षकहरु डिल्लीमाया सिटौला , दीर्घकुमारी श्रेष्ठ , लखनलाल राजवंशी, पूर्व कर्मचारीहरु हरिप्रसाद चौधरी , विषम शिवाकोटीलाई सम्मान गरिएको छ । त्यस्तै विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्षहरु स्व. काजी हरिभक्त खड्का र स्व. जय प्रतापजंग थापालाई मरणोपरान्त सम्मान गरिएको छ भने अक्षयकोषका लागि एक लाख भन्दा बढी सहयोग गर्ने कमलराज विमली+ श्रद्धा विमली र विनु पोखरेल प्रसाई+चम्पक प्रसाईलाई पनि सम्मान गरिएको छ ।


भुतपूर्व विद्यार्थी समाजले लगातार तेस्रो वर्ष गुरु सम्मान गरेको हो । यसअघि समाजले २२ जनालाई सम्मान गरिसकेको छ ।भुतपूर्व विद्यार्थी समाजका अध्यक्ष राजकुमार पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष मदनगोपाल सुब्बाले गरेका थिए । कार्यक्रमको संचालन समाजकी सदस्य लीला अनमोलले गरेकी थिइन् ।

गुरु सम्मान कार्यक्रमका लागि रुपक थापाको संयोजकत्वमा समिति गठन गरिएको थियो । गुरु सम्मान कार्यक्रममा पूर्व विद्यार्थी रहेका राष्ट्रिय कलाकार विमल बुढाथोकीको आमा ब्यान्डको सांगीतिक प्रस्तुती रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्