विनोद सापकोटा,
झापा । साउनको पहिलो सोमबार झापाका शिवालयमा जल जढाउने तिर्थालुको घुइँचो थियो ।

जिल्लाको मौसम अनुकूल बनेपछि अघिल्ला बर्षको तुलनामा यो वर्ष शिवालयमा जल चढाउने र बोलबम जाने तिर्थालुको संख्या बढेको हो । गत वर्ष साउनको पहिलो साता मुसलधारे वर्षा भएका कारण बोलबम निकै प्रभावित बनेको थियो ।
झापाको अर्जुनधारा जलेश्वरधाम ,सताक्षीधाम, चिल्लागढ, , दमकको पशुपति मन्दिर, सताक्षीधामको द्वादशज्योर्तिलिङ, कचनकवलको भुतेश्वर महादेव मन्दिरमा जल चढाउने भक्तजनको भीड लागेको सम्बद्ध शिवालय तथा धाम विकास समितिले जनाएका छन् ।

साउनको पहिलो सोमबार अर्जुनधारा जलेश्वरधाममा भक्तजनहरूको भीडभाड देखियो । धाम समितिले भक्तजनहरूको सुविधाका लागि विभिन्न व्यवस्थाहरू मिलाएको थियो । धाम समितिले छिटो दर्शन गर्न चाहनेहरुका लागि रु. ५०० को टिकटको व्यवस्था गरेको थियो । यो व्यवस्थाप्रति धेरैले गुनासो गरेका छन्। भक्तजनहरूका अनुसार धार्मिक स्थलमा यस प्रकारको शुल्क लिने प्रचलन उचित होइन । साउन महिना विशेषगरी शिवको पूजा आराधनाका लागि महत्वपूर्ण मानिन्छ। विशेषगरी सोमबार शिवालयहरूमा भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ । अर्जुनधारा जलेश्वरधाममा टाढा टाढाबाट भक्तजनहरु दर्शन गर्न आउने गर्छन् ।

साउनको पहिलो सोमबार सताक्षीधाम मन्दिरमा करिव ५ हजार सर्वसाधारणले दिगम्बेश्वर शिवालयमा जल चढाएको सताक्षीधाम धार्मिक मन्दिर तथा पर्यटकीय विकास संस्थाले जनाएको छ । समितिका सचिव कालीप्रसाद रिजालका अनुसार साउनको पहिलो सोमबार ५ हजार धर्मावलम्बीले शिवालयमा जल चढाएर मनोकांक्षा पुरा गरे । उनका अनुसार एकैदिन २६ हजार रुपैयाँ भेटी संकलन भएको छ । यो भेटी विगतका साउन महिनाको पहिलो सोमबारको तुलनामा तेब्बर हो ।


यस्तै चिल्लागढ धाममा पनि जल चढाउने भक्तजनको घुइँचो थियो । मन्दिर विकास समितिका अध्यक्ष पण्डित दिनानाथ खतिवडाका अनुसार १ हजार ५ सय हाराहारीमा भक्तजनले चिल्लागढधामको शिवालयमा जल चढाए ।
शिवसताक्षी नगरकै अर्को दोमुखामा रहेको शिवालयमा ५ हजारको संख्यामा सर्वसाधारणले जल चढाएका थिए ।
यता गोलोक गोवर्द्धन गौशालाकोे द्वादश ज्योतिर्लिङ्गमा बोलबम धार्मिक यात्रामा आउने सर्वसाधारणको अर्को घुइँचो थियो । गौशालाका अनुसार करिव ७ हजार सर्वसाधारणले द्वादश ज्योतिर्लिङगको परिक्रमा गरि जल अर्पण गरे । उनीहरुले विधिवत ज्योतिर्लिङ्गको पूजा आराधानासहित महाआरतीसमेत गरेका थिए । द्वादश ज्योतिर्लिङ्गमा एकैदिन १ लाख ९ हजार रुपैयाँ भेटी संकलन भएको गौशालाले जनाएको छ ।

गोलोक गोवर्द्धन गौशाला परिसरको पशुपतिनाथ द्वादश ज्योतिर्लिङ्गमा जल चढाउको घुइँचो सोमबार मध्यान्हसम्म देखिएको थियो । श्रद्धालुले कनकाई नदी, सताक्षी नदी, घर नजिकका ताल तलाउबाट जल ल्याएर द्वादश ज्योतिर्लिङ्गमा अर्पण गरेका थिए ।

सोमबार शिवका शक्तिपीठमा भक्तजनको भीड देखिएको गोलोक गोवर्द्धन गौशालाका अध्यक्ष नन्दकिशोर भारद्वाजले बताए । पुरुष गेरु बस्त्र र महिला रातो, हरियो रंगको बस्त्रमा आएर शिवालयमा पूजा आराधना गरेको गौशालाले जनाएको छ । झापासहित मोरङ, सुनसरी, इलामलगायतका स्थानबाट भक्तजन आएको गौशालाले जनाएको छ ।
गौशालाका अनुसार कोराना महामारीपछि साउनको पहिलो सोमबारमै पहिलो पटक सबैभन्दा बढी भीड लाग्योे । आउँदो साता भक्तजनको भीड द्वादश ज्योतिर्लिङ्गमा अझ बढी देखिने छ ।

गोलोक गोवर्द्धन गौशाला स्थापना भएपछि बोलबम गएर श्रावणी पर्व मनाउने श्रद्धालु भक्तजनको संख्या सताक्षीधाममा बर्षेनि बढ्दै गएको छ । गौशाला १० वर्ष अघिमात्र स्थापना भएको हो । यो गौशालाले करिव तीन हजार गाईको संरक्षण गरेको छ ।

साउने सोमबार भगवान शिवको प्रिय महिना र वार मानिने हुँदा शिवजीको उपासना गरी नजिकको पवित्र नदी, कुण्ड तथा तलाउबाट ल्याएको जल शिवलिङ्गमा चढाउँदा मनोकांक्षा पूरा हुने भक्तजनमा धार्मिक विश्वास रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्