हल्दिवारी , साउन ८ । हल्दिवारी गाउँपालिका वडा नम्बर २ पाराखोपी बजारपूर्व आफ्नै बाबुको हत्या आरोपमा प्रहरीले छोरालाई नियन्त्रणमा लिएको छ ।

गएराति २ बजे स्थानीय ६३ वर्षीय बासु राजवंशी आफ्नै घरको आँगनमा रहेको लिच्चीको बोटमा शंकास्पद अबस्थामा झुन्डिएको फेला परेका थिए । मृतकको टाउको र आँखामा चोट देखिएको छ । राजवंशीको मृत्यु शंकास्पद देखिएपछि उनका छोरा करिव ३० वर्षीय सुनिल राजवंशीलाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए । डीएसपी चन्द नेतृत्वको टोलीले ४ घण्टा लगाएर अनुसन्धान गरेपछि मृतक राजवंशीका छोरा सुनिललाई नियन्त्रणमा लिएको हो ।

झुन्डिएको अवस्थामा फेला परेका राजवंशीको टाउको, अनुहारसहित शरीरका विभिन्न भागमा चोट लागेको र अनुहारभरि रगत देखिएको वडा अध्यक्ष शुकलाल राजवंशीले पनि बताए ।

सुनिललाई नियन्त्रण लिएर जिल्ला प्रहरी कार्यालय झापा लगिएको छ भने मृतकको शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको छ । मृतक बासु र उनका छोराबिच राति झगडा भएको बताइएको छ । छोराको लुगामा समेत रगत भेटिएको डीएसपी चन्दले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्