झापा, साउन ८ । भद्रपुर नगरपालिका वडा नं ४ का वडा सदस्य अर्जुन बानियाँले सोही वडा कार्यालयका वडा सचिव मानबहादुर मगरमाथि हातपात गरेका छन् ।

आज दिउँसो १ः३० बजे वडा समितिको बैठक संचालन भइरहेको बेला बानियाँले वडा सचिव मगरमाथि हातपात गरेका हुन् । इलेक्ट्रिक मोटर बाँड्ने विषयमा विवाद भएपछि वडा सदस्य बानियाँले मगरमाथि मुक्का प्रहार गरेका थिए ।तर, चोट नलागी मगरको चश्मा फुटेको बताइएको छ ।

सो घटनापछि भद्रपुर नगरपालिकाभरिका कर्मचारीहरु आन्दोलित भएका छन् । उनीहरुले सो घटनाको घोर निन्दा गर्दै घटनाको दोषी बानियाँलाई कारबाही गरी सुरक्षाको प्रत्याभूति नभएसम्म अत्यावश्यकबाहेक अन्य सबै सेवाहरु हाललाई बन्द गर्ने घोषणा गरेका छन् । प्रेस विज्ञप्ति जारी गरी यस घटनाले कर्मचारीहरुको कार्यस्थलमा सुरक्षाको प्रत्याभूति नभएको देखिएको र आफूहरु सबै हतोत्साहित भएको उनीहरुले बताएका छन् ।

सो घटनाका विषयमा भोलि बिहान ८ बजे बैठक बोलाइएको नगरपालिकाका सूचना अधिकारी नेत्र पोखरेलले बताए । पेशागत महासंघ नेपाल झापाका सचिव तथा स्थानीय तह कर्मचारी संघका केन्द्रीय सचिवसमेत रहेका पोखरेलले हातपात गर्ने वडा सदस्य बानियाँले माफी नमागे भद्रपुर नगरपालिकामा मात्र नभएर १५ वटै पालिकाको कामकाज ठप्प पार्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्