झापा, साउन ९ । नेपाल महिला एसिया कप क्रिकेटको समूह चरणबाटै बाहिरिएको छ ।

एसीसी महिला एसिया कपको अन्तिम खेलमा नेपाल भारतसँग ८२ रनले पराजित भएको हो । भारतले १७९ रनको लक्ष्य प्रस्तुत गरेकोमा नेपालले निर्धारित ओभरको खेलमा ९ विकेटको क्षतिमा ९६ रनमात्र बनाउन सक्यो। नेपालका लागि सीता राना मगरले सर्वाधिक १८ रन बनाइन्। त्यस्तै बिन्दु रावलले १७, रुबिना क्षेत्रीले १५, इन्दु बर्माले १४ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन्।

यसअघि टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित ओभरको खेलमा ३ विकेट गुमाएर १७८ रन बनाएको थियो । भारतका लागि सफाली बर्माले ८१ रन बनाइन्। त्यस्तै दायालान हेमालाथाले ७ रन र सजिवन सजनाले १० रन बनाए । जेमिमा रोड्रीग्ययु २८ र रीचा घोष ६ रनमा अविजित रहे ।नेपालका लागि सीत राना मगरले २ र कविता जोशीले १ विकेट लिए ।

नेपालले युएईलाई हराउँदै राम्रो सुरुवात गरेपनि दोस्रो खेलमा पाकिस्तानसँग ९ विकेटले पराजित भएको थियो।समूह ‘ए’ मा भारतले सबै ३ खेल जित्यो । पाकिस्तान ३ मध्येको दुई खेल जितेर समूहबाट दोस्रो टोलीको रुपमा सेमिफाइनलमा पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्