झापा, साउन ९ । झापामा हिजो साँझ प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित पाँचजना पक्राउ परेका छन् ।

साँझ ७.४० बजे अर्जुनधारा नगरपालिका वडा न.११ स्थित नयाँ बसपार्कमा फलामको बेन्चमा शंकास्पद अवस्थामा बसिरहेका सिन्धुली साबिक बेलघारी गा.वि.स.वडा नं.२ भई हाल तीनपाटन गाउँपालिका वडा न.१ घर बताउने वर्ष अन्दाजी २८ का धनबहादुर बस्नेतलाई ब्राउनसुगरसहित प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनी र अस्थाई प्रहरी पोष्ट नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उनको साथबाट प्लाष्टिकसहित ५ ग्राम ३४० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।

त्यस्तै हिजो साँझ ७.३० बजेको समयमा मेचीनगर नगरपालिका वडा न.१० धाईजन ढाँटमा लागूऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधामा लागूऔषध नियन्त्रण व्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय धुलावारीबाट खटिएको प्रहरी टोलीले मेचीनगर ६ बस्ने ३० वर्षीय सोनु तामाङलाई ब्राउनसुगरहित पक्राउ गरेको छ । उनको साथबाट प्लाष्टिकसहित २ ग्राम १४० मिलिग्राम ब्राउनसुगर फेला परेको छ । संगै रहेका उनका साथी सोही ठाउँ बस्ने २८ वर्षीय सुरेश गुरुङ समेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै हिजो साँझ ७.३० बजे झापा गाउँपालिका वडा नं.४ स्थित हुलाकी सडकखण्डमा इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले चर्तागाछीबाट सुरुङगातर्फ आउँदै गरेको प्र.१–०१–०१५ प ७८०८ नम्बरको स्कुटीलाई रोकी चालक कमल गाउँपालिका वडा न.१ बस्ने २९ वर्षीय मौसम लिम्बू र पछाडी सवार सोही ठाउँ बस्ने ३६ वर्षीया सर्मिला राईलाई शंका लागेर चेकजाँच गर्दा उनीहरुको साथबाट प्लाष्टिकसहित ८ ग्राम १० मिलिग्राम ब्राउनसुगर फेला परेको छ । उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्