झापा, साउन ९ । वडा सचिवलाई हातपात गर्ने भद्रपुर ४ का वडा सदस्य अर्जुन बानियाँले माफी मागेपछि भद्रपुर नगरपालिकाका कर्मचारीहरुले आन्दोलन फिर्ता लिएका छन् ।

वडा सदस्य बानियाँले सोही वडा कार्यालयका वडा सचिव मानबहादुर मगरमाथि हिजो दिउँसो हातपात गरेका थिए । दिउँसो १ः३० बजे वडा समितिको बैठक संचालन भइरहेको बेला बानियाँले वडा सचिव मगरमाथि हातपात गरेका थिए । इलेक्ट्रिक मोटर बाँड्ने विषयमा विवाद भएपछि वडा सदस्य बानियाँले मगरमाथि मुक्का प्रहार गरेका थिए ।तर, चोट नलागी मगरको चश्मा फुटेको बताइएको छ ।

सो घटनापछि भद्रपुर नगरपालिकाभरिका कर्मचारीहरु आन्दोलित भएका थिए । उनीहरुले घटनाको दोषी बानियाँलाई कारबाही गरी सुरक्षाको प्रत्याभूति नभएसम्म अत्यावश्यकबाहेक अन्य सबै सेवाहरु बन्द गर्ने घोषणा गरेका थिए । सो घटनाका विषयमा आज बिहान नगरपालिका कार्यालयमा बैठक बोलाइएको थियो । बैठकमा वडा सदस्य बानियाँले वडा सचिव मगरसंग अब आइन्दा त्यस्तो गल्ती नगर्ने भनेर माफी मागेको नगरपालिकाका सूचना अधिकारी नेत्र पोखरेलले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्