झापा, साउन ९ । काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्नेक्रमा सौर्य एयरको ९ एन एएमई जहाज दुर्घटना हुँदा विमानमा सवार १८ जनाको मृत्यु भएको पुष्टि भएको छ।

उक्त जहाज उड्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘रन वे’ पूर्वतर्फको खाल्डोमा खसेको थियो।
विमानमा सवार १८ जनाको शव यत्रतत्र छरिएर रहेका अवस्थामा सङ्कलन गरिएको विमानस्थल सुरक्षार्थ खटिएका वरिष्ठ प्रहरी उपरीक्षक डम्बर विकले जानकारी दिए। उनले सङ्कलित ती शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लगिएको बताए। प्रहरी उपरीक्षक विकका अनुसार सो विमानका चालक दलका एक सदस्यलाई जीवितै उद्धार गरिएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरण खोज तथा उद्धार समन्वय केन्द्रले एक प्रेस विज्ञप्ति जारी गरी १८ जनाको शव संकलन गरिएको र एकजना घाइतेलाई उद्धार गरी अस्पताल लगिएको जनाएको छ ।

सौर्य एयरको जहाज मर्मतका लागि कर्मचारी र प्राविधिक लिएर पोखरा जाँदै गर्दा दुर्घटनामा परेको हो। अहिले विमानस्थलमा आन्तरिक उडान प्रभावित भएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्