झापा, साउन ११ । ख्यातिप्राप्त लोकगायक एलपी जोशी (लक्ष्मीप्रसाद जोशी) को निधनप्रति धेरैले दुःख व्यक्त गरेका छन् ।

उनको ८८ वर्षको उमेरमा गएराति ८.३० बजे दमकको लाइफलाइन अस्पतालमा निधन भएको हो । उनको निधनप्रति कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दुःख व्यक्त गर्दै “रिटिङ रिटिङ नबजाऊ बिनायो,बिनायोले मन मेरो छिनायो” लगायत धेरै लोकप्रिय गीतका सर्जक, पुराना गाउँ र बस्तीका गीतहरुको संकलन र रचना गरेर सुमधुर स्वर दिएका लोकसंगीतका उज्ज्वल नक्षत्र, चर्चित पूर्वेली लोकगायक जोशीको निधनले गायन क्षेत्रमा ठूलो क्षति पुगेको बताएका छन् ।

मुख्यमन्त्री कार्कीले सामाजिक संजालमा लेखेका छन्,‘दिवंगत जोशीका ‘ओल्लो खोलो, पल्लो खोलो–कमिलोको गोलो भनेर हो रानाज्यू’, ‘निगालो घारीमा च्याखुरा नाच्यो’, ‘कान्छी मट्याङट्याङ्’, ‘खिपीमा खिपी बिनायो बाजा’ जस्ता गीतहरु धेरै लोकप्रिय छन्। उनलाई बहुमुखी प्रतिभाका धनी व्यक्ति भनेर सम्बोधन गरिएन भने उनको व्यक्तित्व र काममाथि अन्याय पर्न जान्छ। उनी एक कुशल चित्रकार पनि हुन्।’

त्यस्तै कोशी प्रदेशका सभामुख अम्बर विष्टले जोशीको निधनले गायन क्षेत्रमा ठूलो क्षति पुगेको भन्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

साहित्य चौतारी झापाका संरक्षक देवीभक्त श्रेष्ठले लोकसंगीतका धरोहर, लोकगीत सम्राट,साहित्य चौतारीका संस्थापक सल्लाहकार दीर्घ साधना सम्मानद्वारा सम्मानित जोशीलाई गुमाउनु पर्दा पीडा भएको बताएका छन् । गत असार ३१ गते रजत महोत्सव तथा रजत वर्ष कृति बिमोचन समारोहमा उपस्थित जोशीलाई साहित्य चौतारीले रथारोहणसहित अभिनन्दन गरेको थियो ।

त्यस्तै साहित्यकार केशव आचार्य , सरगम संगीतालयका दीपक रायमाझीलगायतले नेपाली लोकगीत क्षेत्रमा जोशीले दिएको योगदान अविस्मरणीय रहने बताएका छन् ।

वि.सं.१९९३ सालमा धनकुटा ६ बिचबजारमा जन्मिएका जोशीले जीवनभर लोकसंस्कृतिको क्षेत्रमा योगदान पुर्याएका थिए । बेलुकी परिवारसँग खाना खाएका जोशी सामान्य अवस्थामा रहेकोमा अकस्मात बिरामी परेर निधन भएको जनाइएको छ । उनका निकट रहेका कवि धनकुटे कान्छाका अनुसार दमकस्थित घरमा रहेका जोशी बेलुकीको खाना खाएपछि अकस्मात बेहोस भएका थिए । उनलाई अस्पताल पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।

७ जना दाजुभाइका छैटौं सन्तानका रुपमा रहेका जोशीका ५ दिदीबहिनी रहेको उनका कान्छा भाइ नारायण जोशीले बताए । बाल्यकालदेखि नै गीतसंगीत र फुटबल खेलका सौखिन उनी जीवनपर्यन्त लोकगायनमा रहेका थिए । ‘संस्कृतिको लागि देशमा योगदान गर्नुभयो,’ भाइ नारायणले भने, ‘डेढ महिना पहिले भारतको इन्डियन युनिभर्सिटीले डाक्टरको मानार्थ उपाधि दिएको थियो ।’ उनी गत महिना राष्ट्रपतिबाट सम्मानित भएका थिए । लोकगीत सम्राटको उपाधिसमेत पाएको नारायणले सुनाए ।

पारिवारिक स्रोतका अनुसार सुगरको नियमित औषधि खानेबाहेक जोशीको अन्य स्वास्थ्य समस्या थिएन । जोशीका रेडियो नेपालमा रेकर्ड ४५ मध्ये अधिकांश गीत अझै पनि सर्वसाधारणले गुनगुनाउने गर्छन् । उनले २०१३ सालमा पहिलो गीत रेकर्ड गराएका थिए । उनी छोरा मिलन र परिवारका सदस्यका साथ दमकमा बस्दै आएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्