झापा , साउन ११ । कोशीमा एमाले नेतृत्वको सरकारबाट माओवादी केन्द्र आज बाहिरिने भएको छ ।

केन्द्रीय सत्ता गठबन्धनमा आएको फेरबदलपछि एमालेसँगको सहकार्य तोड्न माओवादी बाध्य भएको हो ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले तत्काल साथ नछाड्न माओवादीलाई भन्दै आएका थिए । तर, केन्द्रीय सत्ता समीकरण नै फेरिसकेपछि कार्कीको आग्रह निरर्थक बनेको हो । सरकारमा माओवादीका एक राज्यमन्त्रीसहित चार जना सामेल थिए । जसमा भौतिक पूर्वाधार विकासमन्त्री गणेश उप्रेती, स्वास्थ्य राजेन्द्र कार्की, पर्यटन वन तथा वातावरण नारायणबहादुर बुर्जा मगर र पर्यटन राज्य मन्त्रीमा बन्दना झाँगड थिए । चारै मन्त्रीले आज राजीनामा दिने माओवादी स्रोतले जनाएको छ ।

माओवादी सत्ताबाट बाहिरिएपछि सरकारमा नेपाली कांग्रेस प्रवेश गर्ने छ । कसको नेतृत्वमा सरकारमा जाने भन्नेबारे कांग्रेसभित्र अझै टुंगो लागिसकेको छैन । नेपाली कांग्रेस कोशीका प्रमुख सचेतक गोपाल तामाङले सरकारमा सामेल हुने विषयमा आज साँझ एमालेसँग संवाद गर्ने जनाए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्