झापा,साउन ११ । भेडेटारमा निर्माण भएको स्काईवाक आजदेखि सञ्चालनमा आउने भएको छ । कोशी प्रदेश लगानी प्राधिकरण, धनकुटाको साँगुरीगढी गाउँपालिका र सुनसरीको धरान उपमहानगरपालिकाको समन्वयमा उक्त स्काईवाक निर्माण गरिएको हो ।

वन्डर्स एम्युजमेन्ट पार्क एन्ड अट्रयाक्सन्स प्रालिको २० करोड रुपैयाँको लगानीमा स्काईवाक निर्माण गरिएको परियोजनाका कार्यकारी निर्देशक सञ्जीव रोक्काले जानकारी दिए । धनकुटा र सुनसरीको सीमास्थलमा रहेको भेडेटार आन्तरिक तथा बाह्य पर्यटकको हब मानिन्छ । स्काईवाक सञ्चालनबाट त्यस स्थानको थप आकर्षण बढ्ने दाबी गरिएको छ । परियोजना सञ्चालनका लागि कोशी प्रदेश लगानी प्राधिकरणले २५ वर्षका लागि अनुमति दिएको जनाइएको छ ।

५० मिटर लम्बाइ रहेको स्काईवाक क्यान्टिलिभर टावरको मोडलमा निर्माण भएको परियोजना स्रोतले जनाएको छ । एक पटकमा दुई सय जना हिँड्न सकिने उक्त स्काईवाकको उचाइ १ सय, चौडाइ ४ मिटर र घुम्तीमा १० मिटरको रहेको छ । कोशी प्रदेशका तत्कालीन मुख्यमन्त्री शेरधन राईको पालामा चार वर्ष पहिले सम्झौता भई निर्माण थालिएको स्काईवाकको मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गर्दैछन् ।

भेडेटारस्थित चार्ल्स प्वाइन्टमा यसअघि निर्माण गरिएको टावर विस्थापित गरेर सोही स्थानमा स्काईवाक निर्माण गरिएको छ । काठमाडौंको कमलादी र इलामको कन्याममा निर्माणपछि वज्डर्स ग्रुपले भेडेटारमा पनि स्काईवाक तयार गरेको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्