बिर्तामोड, साउन ११ । सामान्य खर्चको अभावमा बिर्तामोड २ चैतुवारीकी एक १७ वर्षीया किशोरी जीवन मरणको दोसाँधमा पुगेकी छन् ।

नसासम्बन्धी विरामीबाट उद्र राजवंशीकी छोरी उषा राजवंशी ओछ्यानमा थला परेको करिव ७ महिना भयो । तर, राजवंशी परिवारले खर्चकै अभावमा उनलाई उपचार गराउन सकेका छैनन् । विरामीले सिकिस्त हुँदै उनले दुई दिनदेखि खान र बोल्न छाडेकी छन् ।दुब्लाएर शरीरमा हाड र छाला मात्र भएकी ती किशोरी बाउडिने गर्छिन् ।

अबस्था नाजुक भएपछि बिर्तामोड नगरपालिकाका नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला , बिर्तामोड २ का वडाध्यक्ष किशोरकुमार पौडललगायतको पहलमा ती किशोरीलाई आज अपरान्ह कन्काई हस्पिटलमा लगेर भर्ना गरिएको छ ।ती विरामी किशोरीको बारेमा आज मात्र थाहा पाएको र राजवंशी परिवारको दयनीय अबस्थालाई हेरेर आफूहरुले अस्पतालमा लगेर भर्ना गरेको वडाध्यक्ष पौडेलले बताए । उनले सबैको सरसहयोगमा ती किशोरीको प्राण बचाइदिन अपिल गरेका छन् । कन्काई अस्पतालका अध्यक्ष युवराज डाँगीले आफ्नो अस्पतालका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

‘मेरो आर्थिक अबस्थाले गर्दा उपचार गर्न सकिनँ’ विवश उद्र राजवंशी बिन्ती गर्दै भन्छन्,‘मेरो छोरीलाई जसरी भएपनि बचाइदिनु पर्यो ।’राजवंशी परिवारले मजदुरी गरी जीवनयापन गर्दै आएका छन् । उषाको आमाको करिव ९ वर्षअघि निधन भएको हो । उनी हजुरआमा मेनुका राजवंशीकहाँ बस्दै आएकी छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्